मकवानपुर । बागमती प्रदेश सरकारले स्थानीय तहमा ११९ जना प्राविधिक स्वयंसेवक खटाएको छ । सामाजिक बिकास मन्त्रालय अन्तरगतको प्रदेश युवा परिषद्को कार्यालयले राष्ट्रिय विकास स्वयंसेवक अन्तरगत स्थानीय तहहरुमा स्टाप नर्स, कृषि तथा भेटिनरी प्राबिधिक, ल्याब असिस्टेन्ट, अहेब, अनमी लगायतका ११९ जना प्राबिधिक कर्मचारी खटाइएको हो ।
प्रदेश युवा परिषद्ले सार्वजनिक सूचना प्रकाशन गरेर आवेदन मागेका मध्ये छनौटमा परेका ११९ जना स्वयंसेवकलाई मंगलबार एक दिने अभिमुखीकरण गराएर काममा खटाइएको हो । एक हजार ५ सय जना मध्ये छनोटमा परेका ११९ जना प्राबिधीकहरु अभिमुखिकरणसहित नियुक्तीपत्र दिएर कार्यक्षेत्रमा खटाईएको प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईले बताउनुभयो ।
राष्ट्रिय विकास स्वयंसेवक अन्तरगत ‘‘प्रदेश स्वयंसेवक बागमती’’ का बिभीन्न तहका स्वयंसेवकहरुको अभिमुखी कार्यक्रममा प्रदेशका सामाजिक विकास मन्त्री कुमारी मुक्तानले यो सेवा गर्ने ठुलो अवसर रहेकाले काम गरेर देखाउन आग्रह गर्नुभयो । खटिएका स्थानीय तहमा राम्रो सेवा गरेर जनताको मन जित्नसमेत उहाँले आग्रह गर्नुभयो । दक्षताका आधारमा छनोट गरिएकाले त्यही अनुसार काम गर्नका लागि मन्त्री मुक्तानले निर्देशन दिनुभयो ।
कार्यक्रममा मन्त्रालयका सचिब रामकृष्ण पुडासैनीले आफुले जानेका ज्ञानसीप विस्तार गर्न आग्रह गर्नुभयो । स्थानीय तहले पनि यहाँबाट छनौट भएका प्राबिधिकबाट भरपुर फाइदा लिन सक्नुपर्ने उहाँको भनाई थियो । कार्यक्रममा प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष चौलागाईले युवाहरु प्रति धेरै आशा राखेर प्रदेश सरकारले कार्यक्रम ल्याएको भन्दै यसलाई जागिरको रुपमा नहेरी सेवाको भावना राखेर काम गर्न आग्रह गर्नुभयो । उहाँले यो आफ्नो क्षमता देखाउने अवसर समेत भएकाले कुनैपनि गुनासो नआउनेगरी काम गर्नुपर्ने बताउनुभयो ।