पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान पक्राउ परेपछि प्रदर्शन चर्किएको छ । पाकिस्तानका विभिन्न सहरमा भएको प्रदर्शनमा कम्तिमा ४३ जना प्रदर्शनकारी पक्राउ परेका छन् ।
पूर्व प्रधानमन्त्री खानलाई हिजो इस्लामाबादमा अदालत परिसरबाट पक्राउ गरिएको थियो । भ्रष्टाचारसम्बन्धी आरोप लगाइएको मुद्दाबारे उहाँ अदालतमा उपस्थित हुन लाग्नुभएको थियो ।
पूर्व प्रधानमन्त्री खानविरुद्ध अन्य थुप्रै मुद्दा चलिरहेका छन् । यद्यपि आफूमाथि लगाइएका सबै आरोप राजनीतिक रूपले प्रेरित भएको भन्दै पूर्व प्रधानमन्त्री खानले तिनलाई अस्वीकार गर्दै आउनुभएको छ ।
उहाँको दल पीटीआईका कार्यकर्ताले विभिन्न ठाउँमा प्रदर्शन र तोडफोड गरेका छन् । इस्लामाबादमा प्रदर्शनले उग्र रूप लिएको छ । कम्तीमा ४३ प्रदर्शनकारी पक्राउ परेका र तीन जना प्रहरी घाइते भएका बीबीसीले जनाएको छ ।