मकवानपुर – विश्व आत्म हत्या रोकथाम दिवसका अवसरमा शनिबार हेटौंडामा अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ । बागमती प्रदेशको स्वास्थ्य निर्देशनालयको आयोजना तथा कोशिश संस्थाको सहकार्यमा “आशा जगाऔं, जिवन बचाऔं” भन्ने नाराका साथ मकवानपुरका सञ्चारकर्मीहरुसंग अन्तरक्रिया तथा छलफल कार्यक्रम गरिएको हो ।
कार्यक्रममा सहभागिहरुले प्रस्तुतीका क्रममा आत्महत्याका घटना धेरै बढ्न थालेकाले यसको न्युनिकरणमा जोडदिनुपर्ने बताएका छन् । आत्म हत्याको सख्या बर्षेनी बढ्दै गएको नेपाल प्रहरीको तथ्याङकमा उल्लेख छ । मकवानपुरमा आत्महत्याको घटना १४ प्रतिशत रहेको पाइएको छ ।
कार्यक्रममा बागमती प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरिक्षक दीपक रेग्मीले मकवानपुरमा आत्महत्या १४ प्रतिशत भएको बताउनुभयो । रेग्मीले तथ्याङगत विवरण पेश गर्दै आव २०७६÷७७ मा विष खाएर ६० जना, झुण्डीएर ८६ जना, आव २०७७÷७८ मा विष खाएर ४८ जना, भुण्डीएर ९२ जना र पानीमा हामफालेर १ जनाले आत्महत्या गरेको बताउनुभयो । उहाँले २०७८÷७९ मा भने विष खाएर ३२ जना, भुण्डीएर ९० जना र पानीमा हामफालेर २ जना रहेको बताउनुभयो । उहाँले मानसिक रोग र दीर्घरोग, एक्कासी पर्ने तनाव, चरम निराशा, गरिबी, कष्टदायिक पारिवारिक जीवन, अवैध गर्भ, पारिवारिक बिमेल, घरेलु हिंसा, दाइजो प्रथा, प्रेममा धोका, परिवारबाट तिरस्कृत, असफलता जस्ता विभिन्न कारणले मानिसहरु आत्महत्या गर्ने गरेको पाइएको बताउनुभयो ।
बागमती प्रदेशका स्वास्थ्य निर्देशक महेश्वर श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतम, बागमती प्रदेश महासंघका निवर्तमान अध्यक्ष प्रताप विष्ट लगायत कोसिस संस्थाका थमकुमारी कुँवर, स्वास्थ्य मन्त्रालयका डा. रविन भुषाल, स्वास्थ्य निर्देशनालयका पदमराज कैनी, प्रहरी तथा सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।