मकवानपुर – राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले विदेशी शक्तिको आडमा एमालेलाई पराजित गर्न गठवन्धन निर्माण भएको बताउनु भएको छ । राप्रपा नेपालद्धारा शनिबार हेटौँडामा आयोजित कार्यकर्ता भेलालाई संवोधन गर्दै अध्यक्ष थापाल नेकपा एमालेलाई हराउन विदेशीहरु लागेको बताउँदै राप्रपा तहसनहस पार्न पनि विदेशी शक्तिको हात रहेको बताउनुभयो ।
अध्यक्ष थापाले नेकपा एमाले नेतृत्वको सरकारले आफ्नो भु–भाग समेटेर चुच्चे नक्सा निकालेपछि रुष्ट भएको विदेशी शक्तिले एमाले सरकार ढालेको उल्लेख गर्नुभयो । उहाँले कुनै समय एक अर्काको टाउको काटन तम्सने माओवादी र कांग्रेसको सत्ता गठवन्धन के कारणले भयो भन्ने प्रश्नको जवाव जनताले बुझिसकेको भन्दै राष्ट्रियता पक्षधरलाई कमजोर पार्न विदेशी शक्तिले कांग्रेस–माओवादीको प्रयोग गरेको बताउनुभयो ।
अध्यक्ष थापाले आफु केपी शर्मा ओलीको नेतृत्वको सरकारमा परराष्ट्र मन्त्री भएको समयमा भारत तथा संयुक्त राष्ट्रसंघको बैठकमा नाकाबन्दी विरुद्ध कडा रुपमा उभिएको कारण राप्रपालाई समेत बाहिरी शक्तिले तहसनहस गरिदिएको आरोप लगाउनुभयो । उहाँले आउँदो निर्वाचनमा राष्ट्रवादी शक्तिहरु एक हुन जरुरी रहेको समेत स्पष्ट पार्नुभयो । थापाले चुनाव जितेपछि सरकार बनाउन गठबन्धन बनाउनु स्वभाविक भएपनि चुनावमै गठबन्धन हुनु स्वभाविक हुँदै नभएको बताउनुभयो । “जनताको मन जितेर काम गर्ने भन्दा पनि बिदेशीको आडमा पैसाको भरमा चुनाव जितेर जानेहरुले जनतामाथि शासन गर्ने छन्, सबैले यही बुझ्नु पर्छ” थापाले भन्नुभयो ।











