हेटौंडा – हेटौंडा उपमहानगरपालिका वडा नम्बर १८ को रामधुनी स्थित हर्नामाडी स्वास्थ्य चौकीमा वर्थिङ सेन्टर भवनको शिलान्यास गरिएको छ । हेटौंडा १८ का वडाध्यक्ष अनिलकुमार बाँनियाले वर्थिङ सेन्टर भवनको शिलान्यास गर्नु भएको हो ।
भवनको शिलान्यास गर्दै वडाध्यक्ष बाँनियाले वर्थिङ सेन्टर निर्माण पछि हेटौंडा १७ र १८, बकैया ६ र मकवानपुगढी १ का स्थानीयलाई थप सहज हुने बताउनुभयो । उहाँले भवनको निर्माण पछि स्वास्थ्य चौकिलाई मिनि अस्पतालको रुपमा विकास गर्दै एमबिबिएस डाक्टरसहितको सेवा दिईने समेत बताउनुभयो । गोर्खा लाहरी प्रालिको आर्थिक सहयोगमा बन्न लागेको वर्थिङ सेन्टरको ४ कोठे भवन असोज दोस्रो साता सम्ममा सम्पन्न हुने लाहरीका प्रशासन प्रमुख प्रभाकर भण्डारीले बताउनुभयो । उहाँले गोर्खा लाहरीको सामाजिक उत्तरदाहित्व बहन कार्यक्रम अन्तर्गत ३० लाख आर्थिक सहयोगमा भवन तथा वर्थिङ सेन्टरलाई आवश्यक स्वास्थ्य सामग्री सहयोग गरिने बताउनुभयो । शिलान्यास कार्यक्रममा वडाध्यक्ष बाँनिया, गोर्खा लाहरीका भण्डारी, उत्पादन संयोजक विवेश डोटेल लगाएत स्थानीयहरुको सहभागिता रहेको थियो ।