मकवानपुर– जिल्ला समन्वय समिति पाल्पाका प्रमुख दयाराज बस्यालको ६७ वर्षको उमेरमा निधन भएको छ। उनको उपचारका क्रममा त्रिवि शिक्षण अस्पताल महाराजगन्ज काठमाडौंमा बिहीबार दिउँसो निधन भएको हो। पेटमा समस्या देखिएपछि उनलाई बुधबार हेलिकप्टरमार्फत काठमाडौं लगिएको थियो। 

केही दिनअघि युनाइटेड मिसन अस्पताल पाल्पामा उपचार गरिएको थियो। उनको पेटमा पानी जम्नुका साथै फोक्सोमा समस्या देखिएपछि काठमाडौं लैजानुपरेको नेकपाका पूर्वजिल्ला अध्यक्ष देवी बस्यालले बताए। दयाराजका दुई छोरा, दुई छोरी र एक श्रीमती छन्। उनको शव शुक्रबार बिहान जिल्ला समन्वय समितिमा राखी श्रद्धाञ्जली दिने कार्यक्रम तय भएको नेकपा पाल्पाले जनाएको छ। बगनासकाली गाउँपालिका यम्घाको थामडाँडामा जन्मिएका उनी पटक–पटक जेल परेका थिए।

यसैबिच जिसस प्रमुख बस्यालको निधनमा जिसस महासंघ प्रदेश नम्बर ३ ले शोक वक्त्व्य जारी गरेको छ । महासंघका अध्यक्ष एवम् जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले बिहीबार बस्यालको निधन प्रति दुःख व्यक्त गर्दै शोक शन्तप्त परिवार प्रति धैर्य धारणको कामना गर्नुभएको छ ।