काठमाडौं – नेकपा एमालेले पार्टी स्थापना दिवस नयाँ पार्टी कार्यालयमा मनाउने भएको छ । एमालेले वर्षेनि ९ वैशाखमा पार्टी स्थापना दिवस मनाउने गरेको छ । ‘यसपटकको पार्टी स्थापना दिवस नयाँ कार्यालयमा मनाउने तयारी रहेको पार्टी प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिनुभयो । रिजालका अनुसार, अहिले पनि पार्टी कार्यालय सार्ने काम चलिरहेको छ ।
एमालेले केन्द्रीय कार्यालय थापाथलीबाट च्यासलस्थित तुलसीलाल स्मृति भवनमा सार्दैछ । नयाँ कार्यालयमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्षहरु र महासचिवको कार्यकक्ष बनिसकेको रिजालले बताउनुभयो । गएको वर्ष एमालेको कार्यालय थापाथलीमा सरेको थियो । २०७२ को भूकम्पबाट बल्खुस्थित केन्द्रीय कार्यालय क्षतिग्रस्त भएपछि केही वर्ष एमालेले धुम्बाराहीबाट केन्द्रीय कार्यालय चलाएको थियो ।











