मकवानपुर – जिल्ला समन्वय समिति (जिसस) मकवानपुरले बालमैत्री स्थानीय तह घोषणाको तयारीमा रहेको जिल्लाको मकवानपुरगढी गाउँपालिकामा मंगलबार अनुगमन गरेको छ । जिसस मकवानपुरका प्रमुख रघुनाथ खुलालको नेतृत्वमा गएको टोलीले गाउँपालिकाले बालमैत्री स्थानीय तह घोषणाका लागि हालसम्म गरेका काम कारबाहको अनुगमन साथै अन्तरकृया गरेको हो ।

यस अघि जिसस उपप्रमुख भगवती पुडासैनीको नेतृत्वमा पालिकाको ८ वटै वडाको अनुगमन पश्चात मंगलबार गाउँपालिमा अध्यक्ष, प्रमुख प्रशासकिय अधिकृत, विभिन्न शाखाका कर्मचारी एवम् बालमैत्री सहजकर्तासंग छलफल तथा अन्तरकृया गरेको हो । छलफलमा गाउँपालिकाका अध्यक्ष , प्रमुख प्रशासकिय अधिकृत एवम् बालमैत्री सहजकर्ताले हालसम्म भएका कामका बारेमा प्रस्तुति गर्नुभएको थियो । सो क्रममा उहाँहरुले सुरुमा ३९ वटा सुचकमा काम गरेको भएपनि हाल ५१ व्टा सुचकहरु पुरा गरेर घोषणाको लागि तयार भएको जानकारी दिनुभयो । गत फागुन २७ गते पालिकाका सबै वडाहरु बालमैत्री घोषणा भएर आगामी १२ गते गाउँपालिकालाई घोषणा गर्ने लक्ष्य रहेका बताउनुभयो । सबै सुचकहरु पुरा भएको साथै बालमैत्री तीन वर्षे लगानी योजना एवम् पाँच वर्षे रणनितीक योजना समेत तयार पारेर अगाडी बढेको गाउँपालिका अध्यक्ष बिदर हरमागाईले बताउनुभयो ।

सो क्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले बालमैत्री घोषणा पश्चात यसको दिगोपनामा समेत ध्यान दिन सुझाव दिनुभयो । उहाँले अनुगमनबाट आएका कुराहरुलाई सुधार गरेर अगाडी बढ्न सुझाव दिनुभयो । अनुगमन टोलीमा जिसस उपप्रमुख भगवती पुडासैनी, समनव्य अधिकारी आनन्दराज पोखरेल, शाखा अधिकृत सुनिता गजुरेल, नायब सुब्बार उपेन्द्रनाथ पोखरेल, प्रेस संयोजक बिवश अधिकारीलगायतको सहभागिता रहेको थियो । । जिससकाे अन्तिम अनुगमन पश्चातकाे सिफारिसमा प्रदेश सरकारले घोषणाकाे अनुमति दिने प्रावधान रहेकाे छ ।











