file photo

आईसीसी विश्व कप छनोटका लागि अन्तिम तयारीमा रहेको नेपालले आज पहिलो अभ्यास खेल खेल्दैछ । दक्षिण अफ्रीकामा रहेको नेपाली टोलीले आज स्कटल्यान्डसँग र शनिवार नेदरल्यान्ड्ससँग अभ्यास खेल खेल्नेछ । नेपाल र स्कटल्यान्डबीचको खेल नेपाली समय अनुसार दिउँसो पौने १ बजे प्रिटोरियामा सुरु हुनेछ । अभ्यास खेल ५० ओभरको हुनेछ । नेपाली टोली अघिल्लो हप्ता मङ्गलवार दक्षिण अफ्रिका गएको थियो ।
नेपाल दक्षिण अफ्रिकाबाटै जिम्बाब्वे जानेछ । जिम्बाब्वेमा हुने विश्व कप छनोट प्रतियोगितामा दश टोलीको सहभागिता रहेको छ । सहभागी दश टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । प्रतियोगितामा नेपाल समूह ‘ए’ मा रहेको छ । नेपालको समूहमा आयोजक जिम्बाब्वे, वेस्ट इन्डिज, नेदरल्यान्ड्स र अमेरिका रहेका छन् । असार ३ मा जिम्बाब्वेसँग खेल्दै नेपालले प्रतियोगिताको सुरुआत गर्नेछ । समूह ‘बी’ मा श्रीलङ्का, आयरल्यान्ड, स्कटल्यान्ड, ओमान र यूएई रहेका छन् । हरेक समूहबाट शीर्ष तीन टोली सुपर सिक्समा प्रवेश गर्नेछन् । सुपर सिक्समा समूह ‘बी’ बाट आउने तीन टोलीले समूह ‘ए’ का तीन टोलीसँग खेल्नेछन् । त्यसपछि शीर्ष दुई टोली फाइनलमा पुग्दै भारतमा हुने विश्व कपमा स्थान बनाउनेछन् ।