मकवानपुर – हेटौंडामा बन्दको उलंघन गरेको भन्दै बन्दकर्ताहरुले गाडीमा आगजनी र तोडफोड गरेका छन् । मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता संसदबाट अनुमोदन भएको विरोधमा ६ कम्युनिस्ट दल र २ मोर्चाले आह्वान गरेको बन्दको अबज्ञा गरेको भन्दै गाडीमा आगजनी र तोडफोड गरेका हुन् ।
पुर्वपश्चिम राजमार्ग अन्तर्गत हेटौंडा उपमहानगरपालिका–१९, बस्तिपुरमा एक ट्रकमा तोडफोड र हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटे स्थित शिवम रोडमा रिद्धसिद्धि सिमेन्ट उद्योगको खुल्ला सिमेन्ट बोक्ने गाडीमा आगजनी भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता, प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले बताउनुभयो । बन्दकर्ताले हेटौंडा–१५ मा, प्रदेश ३–०३–००१ ख ०१७५ नम्बरको बल्करमा आगजनी गरेका हुन् । तीन जनाको समूहमा मोटरसाइकलमा आएर तोडफोड र आगजनी गरेर फरार भएको भनी चालकले जानकारी गराएपछि प्रहरी टोली घटनास्थल पुगेको थियो । यस्तै पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौंडा–१९, बस्तीपुरमा ना ६ ख ३४९१ नम्बरको ट्रकको सिसा फुटाएको प्रहरीले जनाएको छ ।