हेटौंडा । मकवानपुरका निर्माण व्यवसायीहरुले भुक्तानी माग गर्दै सडक डिभिजन कार्यालय हेटौंडामा तालाबन्दी गरेको छ । शुक्रबार निर्माण व्यवसायी संघ मकवानपुरका अध्यक्ष बाल गोपाल कंडेलको नेतृत्वमा व्यवसायीहरुले कार्यालयमा तालाबन्दी गरेका हुन् ।

सडक डिभिजन कार्यालय हेटौंडा अन्तर्गत आर्थिक वर्ष २०८०/०८१ मा भएको ठेक्का सम्झौता अनुसार निर्माण व्यवसायीहरुले समयमा नै म्याद थप भई प्रक्रिया पुरा गरी विल पेश गरिसकेको अवस्थामा भुक्तानी रोकेको भन्दै आफुहरुले कार्यालयमा तालाबन्दी गरेको संघका अध्यक्ष कंडेलले बताउनुभयो । घर जग्गासमेत धितो राखेर काम सम्पन्न गरेपनि असार मसान्तसम्म कामको भुक्तानी नपाएपछि कार्यक्रम गर्न बाध्य भएको उहाँको भनाई छ ।

सम्झौता बमोजिम काम गर्दा पनि राज्य निकायले यस्तो व्यवहार गरेको भन्दै उहाँले आफुहरु योभन्दा ठुलो सशक्त सडक आन्दोलनमा जाने चेतावनीसमेत दिनुभयो । सडक डिभिजनबाट सबैभन्दा बढी रकम भुक्तानी पाउन बाँकी रहेकोले पहिलो चरणमा सडक डिभिजनमा कार्यक्रम गरेको उहाँले बताउनुभयो ।

विभिन्न निकायबाट पनि रकम भुक्तानी पाउन बाँकी रहेको उहाँले बताउनुभयो । उहाँले कार्यक्रममार्फत सबै निकायलाई यथाशिघ्र तुरुन्त भुक्तानी गर्न माग गर्नुभएको छ । मकवानपुरमा अहिले व्यवसायीहरुले सडक डिभिजनबाट २२ करोडभन्दा बढी रकम र अन्य निकायमा २० करोडभन्दा बढी रकम भुक्तानी पाउन बाँकी रहेको उहाँले बताउनुभयो । धेरै जसो सडक र पुलको भुक्तानी पाउन बाँकी रहेको अध्यक्ष कंडेलले बताउनुभयो । जसमध्ये पुलको १२ करोड भुक्तानी पाउन बाँकी रहेको उहाँको भनाई छ ।