हेटौंडा – मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर १६ मा शुक्रबार विभिन्न पार्टी परित्याग गरेर २ सय जना भन्दा बढी नेकपा एमालेमा प्रवेश गरेका छन् । आज नेकपा एमाले हेटौंडा–१६ नम्बर वडा कमिटीद्धारा आयोजित बृहत कार्यकर्ता भेटघाट कार्यक्रममा नेपाली कांग्रेस, नेकपा माओवादी, राप्रपालगायत विभिन्न पार्टी परित्याग गरि २ भन्दा बढी एमालेमा प्रवेश गरेका हुन् ।

एमाले १६ नम्बर वडा कमिटीले शुक्रबार बृहत कार्यकर्ता भेटघाट, बनभोज तथा जनसांस्कृत कार्यक्रम एवं राष्ट्रिय युवा संघ नेपालको प्रथम वडा अधिवेशन आयोजना गरेको थियो । उनिहरुलाई नेकपा एमालेका नेता तथा बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणी पौडेल, एमाले बागमती प्रदेश कमिटी सदस्य एवम् जिसस मकवानपुरका प्रमुख रघुनाथ खुलाल, एमाले मकवानपुरका अध्यक्ष एकलाल श्रेष्ठलगायत नेताहरुले टिका र खादा लगाएर पार्टीमा स्वागत गर्नु भएको एमाले मकवानपुरका जिल्ला सचिवालय सदस्य मदनकुमार दाहालले जानकारी दिनुभयो ।

सोहि अवसरमा राष्ट्रिय युवा संघ नेपालको प्रथम वडा अधिवेशन समेत सम्पन्न भएको दाहालले जानकारी दिनुभयो । अधिवेशनबाट अमृत सापकोटाको अध्यक्षतामा ३१ सदस्य राष्ट्रिय युवा संघ नेपाल १६ नम्बर वडा कमिटी सर्वसम्मत चयन गरेको छ । कमिटीको उपाध्यक्षमा अर्जुन दंगाल र हरि सदाशंकर, सचिवमा सुरज धितार तथा सहसचिवमा रिता धिताल र रमेश सिलवाल चयन हुनु भएको दाहालले जानकारी दिनुभयो ।
एमाले हेटौंडा १६ नम्बर वडा कमिटीका अध्यक्ष सागर बास्तोलाको अध्यक्षतामा भएको कार्यक्रममा एमाले बागमती प्रदेश कमिटी सदस्य कमलबहादुर बिष्ट, हेटौंडा उपमहानगरपालिका मेयर हरिबहादुर महत, एमाले मकवानपुरका जिल्ला सचिवालय सदस्य एवम् अनेम संघ जिल्ला अध्यक्ष सुमित्रा काफ्ले, सचिवालय सदस्य एवम् युवा ईन्चार्ज संतोष चौलागाई, हेटौंडा नगर अध्यक्ष शालिकराम पुडासैनी, बाशुदेव दंगाललगायतको आतिथ्यता थियो ।











