काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले सवारी दुर्घटना न्यूनीकरणतर्फ विशेष ध्यान दिन सम्बद्ध पक्षको ध्यानाकर्षण गराउनुभएको छ । सङ्खुवासभाको मादीमा आज भएको बस दुर्घटनामा १५ जना यात्रीको मृत्यु भएको खबरले आफू मर्माहत भएको बताउँदै राष्ट्रपतिले शोकाकुल परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्नुभएको छ । साथै उहाँले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ । राष्ट्रपति भण्डारीले ट्विट गर्दै “सवारी दुर्घटना न्यूनीकरणका लागि आवश्यक सावधानी अपनाउन सम्बद्ध पक्षको ध्यान आकृष्ट गराउँछु”, भन्नुभएको छ ।
संखुवासभाको मादीमा भएको बस दुर्घटनामा परी दर्जनौँ यात्रुको ज्यान गुमेको खबरले मर्माहत भएको छु। शोकाकुल परिवारमा गहिरो समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु। सवारी दुर्घटना न्यूनीकरण गर्नका लागि आवश्यक सावधानी अपनाउन सम्बद्ध पक्षको ध्यान आकृष्ट गराउँछु।
— Bidya Devi Bhandari (@PresidentofNP) March 10, 2022











