मकवानपुर – मकवानपुरको मकवानपुरगढी गाउँपालिकाका सबै वडाहरु शुक्रबार (भोली) बालमैत्री घोषणा हुँदै छन् । आगामी चैत्र १२ गते बालमैत्री स्थानीय तह घोषणा गर्ने तयारीमा रहेको गाउँपालिकाले भोली सबै वडालाई एक साथ बालमैत्री वडा घोषणा गर्ने भएको हो ।
बालमैत्री गाउँपालिका घोषणाको लागि आवश्यक सबै सुचकहरु सतप्रतिशत पुगेर घोषणाको अन्तिम चरणमा पुगेकोले पहिला वडाहरुलाई घोषणा गरिने र आगामी चैत्र १२ गते गाउँपालिकालाई नै बालमैत्री घोषणा गरिने बालमैत्री घोषणा कार्यक्रमका संयोजक रामप्रसाद दाहालले जानकारी दिनुभयो । दाहालका अनुसार बुधबार अन्तिम सुचक मापन तथा बालमैत्री दिगोपनाको रणनितिक योजना निर्माण गर्ने कार्यशाला सम्पन्न गरेर भोली शुक्रबार वडाहरु घोषणा गर्न लागिएको हो । वडाहरुलाई बाल विवाह मुक्त, निकृष्ट बालश्रम मुक्त वडा घोषणा पश्चात वडालाई बालमैत्री घोषणा गर्न लागिएको हो ।
गाउँपालिकाबाट अनुगमन र मुल्यांकन पछि कार्यपालिकाको बैठक बसेर गाउँपालिकाको ८ वटै वडा बालमैत्री घोषणा गर्न लागिएको प्रमुख प्रशासकीय अधिकृत रामकुमार पुडासैनीले बताउनुभयो । पुडासैनीका अनुसार वडाहरु घोषणा भएसँगै गाउँपालिका घोषणा गर्न भने सबै सुचकहरु जिल्ला समन्वय समिति र बागमती प्रदेश सरकारबाट अनुगमन, मुल्यांकन हुने र चैत्र १२ गते शनिबार बृहत कार्यक्रमको आयोजना गरि बालमैत्री गाउँपालिका घोषणा गरिने छ । माथिल्लो निकायले सुचकहरुको प्रतिवेदन ठिक छ भने पछि मात्र गाउँपालिका घोषणा गरिने उहाँले बताउनुभयो । गाउँपालिकाले बालमैत्री घोषणा गर्नुभन्दा अघि पञ्चवर्षिय दिगोपना राख्न रणनितिक योजना समेत बनाइसकेको उहाँले बताउनुभयो ।
गाउँपालिकाले २०७८ मंसिरमा नै घोषणा गर्ने तयारी गरेको भए पनि कोरोना महामारिका कारण चैत्र सम्म पुगेको गाउँपालिका अध्यक्ष बिदुर हुमागाईले बताउनुभयो । गाउँपालिकाले बालमैत्री स्थानीय शासन घोषणा निर्देशिका २०७८ मा रहि ५१ वटा सुचकमा रहेर काम गरेको थियो । ५१ वटा सुचकहरुमा बाँच्न पाउने अधिकारमा १४ वटा, संरक्षणको अधिकारमा १० वटा, विकासको अधिकारमा ६ वटा, सहभागिताको अधिकारमा ६ वटा र संस्थागत सुचकमा १५ वटा रहेका छन् । बालमैत्री घोषणा गर्ने नेपालको गाउँपालिका मध्ये मकवानपुरगढी गाउँपालिका चौथो, बागमती प्रदेश र मकवानपुर जिल्लामा भने तेस्रो हुने उहाँले बताउनुभयो । बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका २०७८ अनुसार भने मकवानपुरगढी नेपालकै दोस्रो गाउँपालिका हुने उहाँले बताउनुभयो । बालमैत्री स्थानीय तह कार्यान्वयन निर्देशिका २०७८ मा ५१ वटा सुचक छन् भने कार्यान्वयन निर्देशिका २०६८ मा ३९ वटा सुचकमा रहेर काम गरिएको थियो ।











