यूईएफए च्याम्पियन्स लिगमा साविक विजेता म्यानचेस्टर सिटीले विजयी शुरुवात गरेको छ । समूह चरणको पहिलो खेलमा सिटीले रेड स्टार बेलग्रेड (कारभेना) लाई ३–१ गोलले हरायो । घरेलु मैदान इत्तिहादमा सिटीका अल्भारेजले दुई तथा रोद्रीले एक गोल गरे ।
त्यसअघि रेड स्टारले बुकारीको गोलबाट अग्रता लिएको थियो । तर दोस्रो हाफमा सिटीले खेलमा पुनरागमन गर्दै सहज जित निकाल्यो । यो समूहको अर्को खेलमा लाइप्जिकले योङ ब्याइजलाई ३–१ गोलले नै हराएको छ ।
समूह एफको खेलमा एसी मिलानले न्युक्यासलसँग बराबरी खेलेको छ । राति घरेलु मैदानमा मिलानले न्युक्यासलसँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको हो । समूह ई मा एट्लेटिको मड्रिडले लाजियोसँग एक/एक गोलको बराबरी खेलेको छ । यस्तै अर्को खेलमा ९ खेलाडीमा समेटिएको सेल्टिकलाई फेइनोर्डले दुई शून्यले हरायो ।
च्याम्पियन्स लिगमा बार्सिलोनाले एन्टवेर्पलाई पाँच गोलको फराकिलो अन्तरले हराएको छ । उसले पहिलो हाफमा तीन र दोस्रो हाफमा दुई गोल गर्यो ।
यस्तै अर्को खेलमा पोर्टोले शख्तर डोनेस्कलाई ३–१ गोलले हरायो । पेरिस सेन्ट जर्मेइन (पीएसजी)ले बोरुसिया डर्टमन्डलाई र फेयनुर्ड क्लबले सेल्टिकलाई समान २–० गोलले हराएका छन् ।











