मकवानपुर – कोरोना भमाहामारीका कारण सुस्ताएको पर्यटन व्यवसायको प्रबद्र्धन गर्दै पश्चिमाञ्चल होटल संघको टोली मंगलबार बागमती प्रदेशको राजधानी हेटौंडा आइपुगेको छ । पर्यटन व्यवसायको प्रचार प्रसार गर्ने उदेश्यका साथ “जाउँ है पोखरा” अभियान लिएर टाली हेटौंडा आइपुगेको हो ।
पश्चिमाञ्चल होटल संघ पोखराले करीब दुई दशकअघि अगाडि सारेको ‘जाउँ है पोखरा’ अभियान कोरोना महामारीका कारण दुई वर्ष रोकिए पनि यस वर्ष अगाडि बढाईएको होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले बताउनुभयो । नेपालमा राजनीतिक द्धन्द चरम उत्कर्षमा पुग्दै गर्दाको अफ्ठ्यारो अवस्थामा सुरू गरिएको अभियानलाई कोरोना महामारी पछि पनि निरन्तरता दिन लागिएको बताउनुभयो । कोभिड महामारीका कारण नेपाली पर्यटन नराम्ररी थला परेको अवस्थामा यो अभियानले पर्यटन क्षेत्र केही चलायमान हुने विश्वासका साथ अभियान सञ्चालन गरिएको उहाँले बताउनुभयो । फागुन ८ गते पोखराबाट हिँडेको अभियान टोली बुटवल, चितवन, हेटौडाहुँदै वीरगन्जसम्म पुग्ने उहाँले बताउनुभयो । हेटौंडामा अभियानका विषयमा छलफल तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको थियो ।
कार्यक्रममा अभियानका संयोजक विकल तुलाचनले भूकम्प र कोरोना महामारीका कारण थला परेको पर्यटन क्षेत्रलाई माथि उठाउन अभियानमार्फत पर्यटकीय माहोल सिर्जना गर्दै सकारात्मक सन्देश प्रवाह गर्न लागिएको बताउनुभयो । २० वर्ष देखी जारी अभियान यस वर्ष पनि सञ्चालन गरिन लागिएको भन्द्र तुलाचनले ३० देखी ५० प्रतिशत सम्म छुटको योजनाहरु रहेको बताउनुभयो । उहाँले सुस्ताएको पर्यटन क्षेत्रलाई पुनः उत्थान गर्नु अभियानको मुख्य उद्देश्य रहेको बताउँदै नयाँ वर्षका अवसरमा आयोजना गर्दै आएको फेवा नव वर्ष महोत्सवको निमन्त्रणासमेत अभियानकै क्रममा गरिएको बताउनुभयो । यस वर्ष पोखरामा आधा अर्ब माथीको लगानीमा निर्मित शीव मन्दिर निर्माण गरि नयाँ पर्यटन गन्तव्य तयार गरिएको समेत उहाँले जानकारी दिनुभयो ।











