चितवन- नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनमा मतदान जारी छ । मतदान मंगलबार बिहान ४ बजेपछि सुरु भएको थियो । विहान १० बजेसम्मका लागि तोकिएको मतदानको समयमा आधा घण्टा थप गरिएको एमाले निर्वाचन आयोग सदस्य बाबुराम दाहालले जानकारी दिनुभयाे । उहाँका अनुसार १० बजेसम्म २ हजार जनाले मतदान गर्नुभएकाे छ ।
२१७५ जना प्रतिनिधि रहेको एमाले महाधिवशेनमा कार्यव्यस्तताका कारण कतिपयले महाधिवेशन छाडेर फर्किसकेकाले केही कम मत खस्न सक्ने सम्भावना रहेको दाहालले बताउनुभयाे । ‘कसैको निजी कामले जानु भएको हुनसक्छ नभए शतप्रतिशत मत खस्छ’ उहाँले भन्नुभयाे ।
५० वटा क्लस्टरमा मतदान गर्नुपर्नेमा ४० वटामा निर्विरोध भइसकेको र अहिले १० वटा क्लस्टरमा मात्र भोटिङ भइरहेको उनले जानकारी दिनुभयाे । मत दिएर फर्किएका केहीलाई मतदान गर्न पाँच मिनेट मात्र समय लागेको भएपनि केहीलाई २५ मिनेटसम्म लागेको आफूले पाएको दाहालले बताउनुभयाे । मतदान सकिएपछि केही प्राविधिक कुरा सकाएर मतगणना गर्न थालिने उहाँले बताउनुभयाे । मत गणना गर्न १ देखि २ घण्टा लाग्ने उहाँको भनाइ छ । ‘भोटिङ मसिन हो । नेटवर्किङ गरेको भए एक क्लिकमा हुन्थ्यो । उम्मेदवारलाई एक कम्प्युटरबाट अर्कोमा जोडिएको छ भन्ने आशंका लाग्न सक्ने भएका कारण सबै कम्युटर अलग अलग छन् । कम्प्युटरमा जोडेर गर्नु पर्ने भएकाले १ देखि २ घण्टा लाग्न सक्छ’ दाहालले भन्नुभयाे ।











