चितवन – नेकपा एमालेको १० औं महाधिवेशनबाट उपाध्यक्षमा निर्विरोध चुनिएकी अष्टलक्ष्मी शाक्यले सर्वसम्मत नेतृत्व चयन पनि लोकतन्त्रको सर्वोत्तम विधि भएको बताउनुभएको छ । चितवनको सौराहामा जारी महाधिवेशन अन्तर्गतको बन्दसत्रमा मतदान चलिरहँदा नेता शाक्यले प्रतिनिधिहरुले सर्वसम्मत पनि लोकतन्त्रको विधि भएको महसुस गरेकाले त्यस अनुसार पार्टी अघि बढेको बताउनुभयो ।
सर्वसम्मत गर्दा सुरुमा केही असहज हुन्छ जस्तो लागेको भएपनि त्यस्तो नभएको उहाँको भनाइ थियो। “सुरुवातमा केही अफ्ट्यारो हुन्छ कि सर्वसम्मतमा भन्ने लागेको थियो । तर, प्रतिनिधिहरुको भावना के पाइयो भने सर्वस्मत पनि लोकतन्त्रको विधि हो । सबैले सर्वसम्मतमा जान महसुस गरेकोले त्यसमा गइएको हो” उहाँले भन्नुभयो । “त्यो लोकतन्त्रको उच्च र सर्वोत्तम पक्ष हो।” १० औं महाधिवेशनबाट प्रतिस्पर्धामात्र चुनाव होइन भन्ने भएको उहाँको भनाइ छ। पालिका र नगरतहमा सर्वसम्मत भएपनि केन्द्रमा प्रतिस्पर्धा हुनु स्वाभाविक भएको उहाँले बताउनुभयो । “स्थानीय तहमा मानिसलाई बुझाउन सजिलो हुन्छ। उनीहरुलाई आफ्नो एकता बनाउनका लागि सहज हुन्छ,” उहाँले भन्न्ुभयो ।” “माथिको नेतृत्वमा भनेको अत्यन्तै प्रतिस्पर्धा हुन्छ। कतिपयले आफूलाई केन्द्रीत गरेको हुन्छ। प्रतिस्पर्धाबाट म जित्छु कि भन्ने आशा र विश्वास हुन्छ।