प्रतिनिधिसभामा आज अमेरिकी सहयोग परियोजना एमसीसी माथि छलफल गर्ने कार्यसूची छ । संसदमा अर्थमन्त्री जनार्दन शर्माले एमसीसी सम्झौता पेश गर्ने कार्यसूची संसद् सचिवालयले सार्वजनिक गरेको छ । तर, महत्त्वपूर्ण कार्यसूची छलेर अर्थमन्त्री शर्मा भने पर्वत आइपुग्नुभएको छ ।
पारिवारिक घुमघाम सहित उद्योग वाणिज्य सङ्घको साधारणसभाको उद्घाटन कार्यक्रममा समेत सहभागी हुन भन्दै अर्थमन्त्री शर्मा हिजो कुश्मामा आइपुग्नुभएको हो । कुश्मामा बन्जिजम्पमा पुगेका शर्मा हिजो राती त्यहीँ बास बस्नुभएको थियो । आज संसदमा एमसीसीमाथी छलफल गर्ने कार्यसूची रहेपनि शर्मा दिनभर पर्वतमै रहने बुझिएको छ ।
अघिल्लो आइतबार संसदमा टेबुल गर्दा पनि अर्थमन्त्री शर्मा बिरामी भएको जानकारी गराएपछि सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्रवहादुर कार्कीले पेश गर्नुभएको थियो । संसद् बैठकमा आफ्ना सांसदलाई अनिवार्य उपस्थित हुन काँग्रेसले ह्विप जारी गरेको छ । सत्तारुढ नेकपा माओवादी केन्द्र विपक्षमा उभिने निर्णय गरेको छ । माओवादी केन्द्र विपक्षमा उभिँदा अर्थमन्त्रीले प्रस्ताव पेश गर्न नैतिकताका आधारमा नमिल्ने भएकाले उहाँले संसद् बैठक छल्दै आएको राजनीतिक विश्लेषकहरू बताउँछन् ।
अर्थमन्त्री शर्माले भने संसदमा पेश गर्ने कि नगर्ने र कसरी टुङ्गाउने भन्ने बारेमा सरकारले छलफल गरिरहेको बताउनुभयो । उहाँले पार्टीको आधिकारिक धारणा सार्वजनिक भइसकेकोले आफूले यस बारेमा धेरै बोल्न नचाहने प्रतिक्रिया दिनुभयो ।