हेटौंडा– सरकारले डा. गोविन्द केसीको मागको सम्बोधन गर्नुपर्ने भन्दै मकवानपुरका सहित्यकारहरुले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् । स्वास्थ्य सेवा क्षेत्र सुधारको माग गर्दै १९ औं पटक आमरण अनसनमा बस्नुभएका डा. केसीको समर्थनमा मकवानपुरका साहित्यकारहरुले आज ऐक्यबद्धता ¥याली तथा धर्ना कार्यक्रम आयोजना गरेका छन् ।

साहित्यकारहरुले डा. केसीको माग पुरा गर्ने सम्बन्धमा प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् । सञ्जालले डा. केसीको पछिल्लो अनसनतर्फ सरकारी पक्षले देखाएको उदासिनता र उहाँको प्रतिदिन बिग्रदै गएको स्वास्थका विषयमा चासो देखाउँदै जिल्ला प्रशासन कार्यालयमा धर्ना दिनुका साथै प्रधानमन्त्री लाई ज्ञापनपत्र बुझाएका हुन् । निरङ्कुश राजतन्त्र , जहानियाँ राणा शासन , पञ्चायनी व्यवस्था , बहुदलीय प्रजातन्त्र लगायत शासनप्रणानीमा व्याप्त अन्धकार , शोषण दमन एवम् भ्रष्ट संस्कृतिको विरुद्धमा लामो समयदेखि सङ्घर्षरत नेपाली जनताको ठुलो त्याग , तपस्या र बलिदानी पश्चात प्राप्त भएको सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्यव्यवस्था कम्तीमा गाँस, बास, कपास, शिक्षा स्वास्थ्य र रोजगारी जस्तो मौलिक हक अधिकार प्राप्तिका लागि जनताले अनसन नै बस्नुपर्ने अवस्था आफैमा दुखद रहेको उनिहरुको भनाई छ ।
विशेषगरी शिक्षा र स्वास्थ्यजस्तो आधारभुत कुरामा आम सर्वसाधरण जनताको सहज पहँुच हुनुपर्नेमा यी दुवै क्षेत्रमा बढ्दो व्यापारीकरण र माफियाकरणले सर्वसाधरणको जीवन अत्यन्त कष्टकर बन्दै गएको भन्दै सञ्जालले मेडिकल शिक्षामा व्याप्त विकृतिको अन्त्य गर्दै आधारभुत स्वास्थ्य सुविधामा आम सर्वसाधरण जनताको सहज पहँुच हुनुपर्नेजस्ता अत्यन्त स्वाभाविक र जायज माग राखेर १९ औ पटकसम्म आमरण अनसन बसिरहनुभएका डा. केसीको स्वास्थ्यवस्थालाई गम्भीरतापुर्वक लिई उहाँको जीवनरक्षाको लागि अभिभावकीय भुमिका निर्वाह गर्न आग्रह गर्दै प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका हुन् ।











