मकवानपुर– कोरोना भाईरस (कोभिड–१९) बिरुद्ध जनचेतना फैलाउने तथा नियन्त्रणका विषयमा छलफल गर्ने उदेश्यले जिल्ला समन्वय समिति (जिसस) मकवानपुरका प्रमुख रघुनाथ खुलालले हेटौंडाका विभिन्न वडाहरुमा छलफललाई निरन्तरता दिनुभएको छ । सो क्रममा प्रमुख खुलालले सोमबार हेटौंडा उपमहानगरपालिका वडा नम्बर ६ र वडा नम्बर ९ मा वडाका जनप्रतिनिधि, राजनैतीक दलका प्रतिनिधि, टोल विकास संस्थाका प्रतिनिधि, स्वास्थ्यकर्मीलगायत सरोकारवालाहरुसंग छलफल गर्नुभएको छ ।
बिशेष गरि कोरोना भाईरस बिरुद्धमा समुदायलाई नै सचेत बनाउनु पर्ने भन्दै उहाँले नगरका वडाहरुमा सरोकारवालाहरुसंग छलफललाई निरन्तरता दिँदै आउनुभएको छ । यस अघि वडा नम्बर १५, १९, ८, १० र ३ मा सरोकारवालाहरुसंग वडाको अवस्था र कोरोना नियन्त्रणका लागि चालिएका कदमका विषयमा छलफल गर्नुभएका प्रमुख खुलालले सोमबार वडा नम्बर ६ र ९ मा छलफल गर्नुभएको हो । सोक्रममा उहाँले कोरोनाबाट बच्न स्वास्थ्य सुरक्षाको मापदण्डको पालना गर्नु बाहेक अर्को विकल्प नभएको भन्दै सो विषयमा जनचेतना फैलाउने र स्वास्थ्य सुरक्षाका मापदण्डको पालना गर्ने र गराउने तर्फ सबै लाग्नु पर्ने बताउनुभयो । समुदायलाई सचेत बनाउन हामी सबै लाग्नु पर्ने भन्दै उहाँले सबै भन्दा बढी राजनैतिक दल लाग्नु पर्ने बताउनुभयो । यस्तो अवस्थामा राजनैतिक दलले आफ्ना कार्यकर्ता टोल टोलमा परिचालन गर्न सक्नु पर्ने उहाँको भनाई थियो ।
वडा नम्बर ६ मा भएको छलफलका क्रममा वडा अध्यक्ष अर्जुन प्रसाद चौलागाईले वडामा सबै काम आफ्नै हिसाबले गरिरहेको भन्दै अभिभावकत्व कतैबाट नपाईएको गुनासो गर्नुभयो । उहाँले जिल्ला समन्वय समितिले हरेक काममा समन्वय गरेर अभिभावकत्व प्रदान गर्दै आएको र कोरोनाको विषयमा पनि वडाको गतिविधिका बारेमा जानकारी लिनुका साथै आवश्यक सल्लाह प्रदान गर्नुभएकोममा धन्यवाद दिनुभयो । उहाँले वडामा हाल सम्म १९ जनामा कोरोना संक्रमण पुष्टि भएकोमा १३ जना निको भईसकेको र ६ जना होम आइसोलेसनमै रहेको जानकारी दिनुभयो । उहाँले सबैको सकृय सहभागितामा वडामा कोरोना बिरुद्धको कार्यहरु भईरहेको बताउनुभयो ।
यस्तै वडा नम्बर ९ का वडा अध्यक्ष लक्ष्मण प्रसाद भण्डारीले ९ नम्बर वडामा सबैको सकृय सहभागितामा प्रभावकारी रुपमा जनचेतनाका कार्यक्रमहरु सञ्चालन भएकै कारणले कोरोना संक्रमण सोचे भन्दा कम फैलिएको बताउनुभयो । उहाँले कोरोना बिरुद्धमा वडाका सम्पुर्ण राजनैतिक दल, टोल विकास संस्थालगायत सम्पुर्ण वडावासीको साथ पाएको बताउनुभयो । तर, सम्बन्धीत निकायबाट भने सक्दो सहयोग प्राप्त हुन नसक्दा केहि समस्याहरु भने भोग्नु परेको बताउनुभयो । उहाँले वडामा अहिले सम्म ४० जनामा संक्रमण पुष्टि भएका मध्ये ३१ जना निको भैसकेको र ९ जना आइसोलेसनमा रहेको र उहाँहरुको स्वास्थ्य अवस्था सामान्य रहेको बताउनुभयो ।











