मकवानपुर– बागमती प्रदेशको प्रदेशसभाहलको निर्माण आजबाट सुरु भएको छ । बुधबार बागमती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठले सभाहलको शिलान्यास गर्नुभएको हो । भवन शिलान्यास गर्नुहुँदै सभामुख श्रेष्टले सभाहलको भवन शिलान्यास गर्न पाउँदा खुसी लागेको भन्दै समयमै निर्माण कार्य सक्न निर्देशन समेत दिनुभयो ।

कार्यक्रममा प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फूयालले तीन तहकै सरकार मिलेर काम गरेर देखाउने चरणमा लागेको वताउनुभयो । हरेक विकास निर्माणका काम तीन तहका सरकार र जनसहभागितामा दु्रत गतिमा अगाडी वढेको उहाँको भनाई थियो । कार्यक्रममा बागमती प्रदेशका प्रमुख प्रतिपक्ष दलका नेता इन्द्र बहादुर बानियाँले अहिलेकै सांसदले प्रयोग गर्न सक्नेगरी छिटो सभाहल निर्माण सक्न आग्रह गर्नुभयो ।कार्यक्रममा प्रदेशका उपसभामुख राधिका तामाङ, प्रदेशसभाका सदस्यहरुको उपस्थिती थियो ।
कुल ४ करोड ३७ लाख २४ हजार रुपैयाँ लागतमा हेटौंडा १० टिसिएनमा रहेको प्रदेशसभा भवनसंगै हल पनि निर्माण गर्न लागिएको छ । २ सय ५० जना अट्ने क्षमताको सभाहल एक सय ४० मिटर लम्बाइ र ८० फिट चौडाइ रहेको छ । २०७९ बैशाख २१ गतेसम्म हलको निर्माण सम्पन्न गर्ने गरि निर्माण कम्पनिसंग सम्झौता गरिएको छ ।