मकवानपुर– ढुंगा, गीट्टी, बालुवा जिल्ला अनुगमन तथा समन्वय समिति मकवानपुरले जिल्लाको हेटौंडा उपमहानगरपालिका र भीमफेदी गाउँपालिकाको नदिजन्य पदार्थको स्टक प्रमाणित गरेको छ । शुक्रबार अनुगमन समितिका संयोजक एवम् जिल्ला समन्व्य समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालको अध्यक्षतामा बसेको बैठकले जिल्लाका दुई स्थानीय तहको स्टक प्रमाणित गरेको हो ।

स्टक प्रमाणितका लागि अनुगमन समितिद्धारा गठन गरिएको प्राविधिकसहितको स्टक प्रमाणित उपसमितिले तयार पारेर पेश गरेको विवरणको आधारमा जिल्लाका दुई स्थानीय तहको स्टक प्रमाणित गरिएको अनुगमन समितिका संयोजक खुलालले जानकारी दिनुभयो । स्टक प्रमाणित सिफारीस उपसमितिले पेश गरेको स्टक बिवरणलाई अनुगमन समितिले अननुमोदन सहित स्वीकृत गरेको हो । जिल्लाका अन्य स्थानीय तहहरुको स्टकको विवरण नआएकाले बाँकी रहेको छ ।
त्यस्तै बैठकले स्रोत नखुलेको, बढी देखिएको जफत योग्य नदिजन्य पदार्थ स्थानीय तहले तत्काल नियमनानुसार राजस्व असुली गन साथै कारोवारमा बढी देखिएको मौजदात फिल्डमा नदेखिएको हकमा राजस्व छली गरेको देखिएकोले त्यस्ता नदिजन्य पदार्थको स्थानीय तहले तत्काल राजस्व संकलन गर्ने निर्णय गरेका उहाँले जानकारी दिनुभयो ।
त्यस्तै बैठकले बढी उत्खनन् गर्ने र राजस्व छली गरि कारोवार गर्नेहरुमा थप कारबाही अगाडी बढाउनुभन्दा अघि स्थानीयतहसंग राय लिने र सोको लागि स्थानीय तहलाई ७ दिनको समयावधी दिने निर्णय गरेको उहाँले जानकारी दिनुभयो । यस्तै करछली सम्बन्धी थप अनुसंधान तथा नियमानुुसार कारबाही अगाडी बढाउन आन्तरिक राजस्व कार्यालय हेटौंडालाई आग्रह गर्ने निर्णय गरेको उहाँले जानकारी दिनुभयो ।
त्यस्तै आजको बैठकले ढुंगा, गीट्टी, बालुवा बिक्रि तथा व्यवस्थापन सम्बन्धी मापदण्ड–२०७७ को दफा–४, उपदफा (१०) मा गरिएको व्यवस्था अत्यन्तै अव्यवहारीक भएकाले सो व्यवस्था संसोधनकालागि नेपाल सरकारमा अनुरोध गर्ने र सोहि मापदण्डको दफा ३, उपदफा (ख) बमोजिम जिल्ला विपद व्यवस्थापन समितिमा छलफल गर्न अनुरोध गर्ने समेत निर्णय गरेको उहाँले जानकारी दिनुभयो ।
बैठकमा जिल्ला समन्वय समिति मकवानपुरकी उपप्रमुख भगवती पुडासैनी, हेटौंडा उपमहानगरपालिकाकी उपमेयर मिना कुमारी लामा, प्रमुख जिल्ला अधिकारी दिपक राज नेपाल, हेटौंडा उपहमानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत नमराज घिमिरे, आन्तरिक राजस्व कार्यालय हेटौंडाका प्रमुख शन्त बहादुर ढकाल, मकवानपुरका प्रहरी प्रमुख शुसिल सिंह राठौर, शसस्त्र प्रहरीका प्रहरी उपरिक्षक निर कृष्ण अधिकारी, डिभिजन वन कार्यालय हेटौंडाका प्रमुख ईमनाथ पौडेल, डिभिजन वन कार्यालय राप्तीका प्रमुख दिर्घ नारायण पौडेल, जिल्ला समन्व्य समितिका निमित्त प्रमुख भीमलाल महर्जन, जिससका प्राविधिक राम शेवक मण्डललगायतको सहभागिता थियो ।