फाइल तस्विर

हेटाैंडा– बुधबार आज थप ४ सय ८२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएसंगै नेपालमा कूल सङ्क्रमितको सङ्ख्या १४ हजार ४६ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको नियमित प्रेस व्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले आज थप तीन सय ६५ जना पुरुष र एक सय १७ जना महिलामा सङ्क्रमण पुष्टि भएको जानकारी दिनुभयाे । नेपालमा हालसम्म १२ हजार दुई सय ७२ जना पुरुष र एक हजार सात सय ७४ जना महिला गरि कुल १४ हजार ४६ मा सङ्क्रमण पुष्टि भएको उहाँले बताउनुभयाे ।

त्यस्तै कोरोना भाइरसको सङ्क्रमणबाट आज एकै दिन एक हजार चार सय ६२ जना सङ्क्रमण मुक्त भएका छन् । विभिन्न स्थानमा रहेका आइसोलेसन सेन्टरबाट आज एक हजार चार सय ६२ जना सङ्क्रमण मुक्त भएसँगै हालसम्म कोरोना सङ्क्रमण मुक्त भई घर फर्कनेको सङ्ख्या चार हजार छ सय ५६ पुगेको मन्त्रालयका प्रवक्ता प्रा. डा.गौतमले दिनुभएको जानकारी अनुसार छ ।

यसै गरी यही असार १४ गते मृत्यु भएका अछामका ४५ वर्षीय पुरुषमा सङ्क्रमण पुष्टि भएपछि नेपालमा कोरोना भाइरस सङ्क्रमणपछि मृत्यु हुनेको सङ्ख्या ३० पुगेको छ । अछामको रामरोसन गाउँपालिका वडा नं. ५ निवासी पुरुष श्वासप्रश्वासमा समस्या आएपछि असार १३ गते बयलपाटा अस्पताल भर्ना भई उपचारका क्रममा निधन भएको मन्त्रालयले जनाएको छ । मृतक पुरुषमा मधुमेहको समेत समस्या रहेको मन्त्रालयका प्रवक्ता प्रा.डा. गौतमले जानकारी दिनुभयो ।

देशका विभिन्न प्रयोगशालामा हालसम्म जम्मा दुई लाख ३३ हजार दुई सय २७ वटा पिसीआर विधिबाट परीक्षण गरिएको छ । पछिल्लो २४ घण्टामा चार हजार आठ सय ८६ वटा पिसीआर विधिबाट परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । यसै गरी आज देशका विभिन्न स्थानमा रहेका क्वारेनटाइनमा ४८ हजार तीन सय ६२ जना रहेका छन् भने विभिन्न आइसोलेसन स्थलहरूमा नौ हजार तीन सय ६० रहेको मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले जानकारी दिनुभयो ।