मकवानपुर– संस्थागत विद्यालय शिक्षक यूनियन (इष्टु) मकवानपुरले बुधबार जिल्ला समन्वय समिति (जिसस) प्रमुखलाई ज्ञापनपत्र बुझाएको छ । ईष्टु जिल्ला कार्य समिति र नगर कार्य समितिले संयुक्त रूपमा विभिन्न ६ बुँदे मागसहित प्रमुख खुलाललाई ज्ञापनपत्र बुझाएको हो ।

इष्टु मकवानपुरका अध्यक्ष सचिन लामा नेतृत्वमा गएको टोलीले जिसस प्रमुख खुलालको कार्यकक्षमै कोरोना भाइरस (कोभिड(१९) को विषम परिस्थितिमा पनि संस्थागत विद्यालयका शिक्षक कर्मचारीहरुले अनलाइन कक्षालगायत अन्य तोकिएको कार्य नियमित रुपमा गर्दै आइरहँदा समेत पूर्वनिर्धारित तलव, सेवासुविधा प्राप्त नहुँदा यसतर्फ राज्य पक्ष र विद्यालय व्यवस्थापन गम्भीर नदेखिएको भन्दै समन्वय र सहजिकरणका लागि ध्यानकर्षण गराएको हो ।
ईष्टुले संस्थागत विद्यालयमा कार्यरत शिक्षककर्मचारीलाई भुक्तानी गर्नुपर्ने खाईपाई आएको तलबभत्ता लगायत पूर्ववत् सेवासुविधा नियमित उपलब्ध गराईयो, कोरोना कहरको बाहनामा नियमविपरित शिक्षककर्मचारीलाई निष्कासन गर्ने कार्य तत्काल रोकियोस्, सम्पूर्ण संस्थागत विद्यालयका शिक्षककर्मचारीलाई सामाजिक सुरक्षाकोषमा सहभागी गराईयोस, विद्यार्थी भर्ना प्रक्रियालाई परिस्थिति मिलाएर सहज बनाइयोस्, अनलाइन तथा भर्चुअल रुपमा पढाइएका÷पढाउने कक्षालाई औपचारिक मान्यता दिइयोस् र सरकारद्वारा निजी क्षेत्रलाई दिने घोषणा गरिएको सहुलियत ऋणलगायत राहत प्याकेजमा संस्थागत विद्यालयलाई पनि समावेश गरियोस् भन्ने माग गरेको छ ।

ज्ञापन पत्र बुझ्दै जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख खुलालले महामारीको अहिलेको अवस्थालाई सबैले बुझेर अगाडी बढ्न सुझाव दिँदै इष्टुको समस्याका विषयमा समन्वय र सहजिकरण गर्ने बताउनुभयो । इष्टुले आफ्नो मागलाई लिएर हेटौंडा उपमहानगरपालिका, शिक्षा विकास तथा समन्वय इकाइ, प्याव्सन मकवानपुर, शिक्षक महासंघ नगर कार्य समिति मकवानपुरलगायतलाई ध्यानकर्षण जनाइसकेको छ ।