मकवानपुर– जिल्ला समन्वय समिति मकवानपुरद्धारा हेटाैंडा–१० स्थित वन विज्ञान अध्यन संस्थानकाे भवनमा सञ्चालित होल्डिङ स्टेसनमा हालसम्म ६१ जनाले सेवा प्राप्त गरेका छन् । होल्डिङ स्टेसन संचालनमा आएपछि हालसम्म भएका काम र आगामी योजना निर्माणकालागि बुधबार आयोजित सरोकारवालाहरुसंगको छलफलमा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले हालसम्म विदेशबाट आएका ६१ जनालाई सेवा प्रदान गरिएको जानकारी दिनुभयो ।

गत जेष्ठ २९ गतेबाट संचालनमा आएको स्टेसनमा हालसम्म ५० जनालाई प्रत्यक्ष रुपमा र ११ जनालाई सम्बन्धीत पालिका सम्म पुग्नका लागि सहजिकरण गरिएको प्रमुख खुलालले जानकारी दिनुभयो । छलफलका क्रममा मकवानपुरमा होल्डिङ स्टेसन संचालनमा आएपछि विदेशबाट आउने मकवानपुरका नागरिकलाई सहजता मिलेको सरोकारवालाहरुले बताएका छन् । तर, काठमान्डौं मै व्यवस्थापन राम्रो हुन नसक्दा मकवानपुरका जनताले दुख पाएको बताएका थिए । सो क्रममा प्रमुख खुलालले काठमान्डौंमा आईपुगेकाहरुको व्यवस्थापन र सहज रुपमा मकवानपुर सम्म आईपुग्नका लागि आफुले सहजिकरण गरिरहेको र यस विषयमा प्रदेश सरकारसंग समेत छलफल गर्ने बताउनुभयो ।

प्रमुख खुलालले होल्डिङ स्टेसन सबैको सहयोग र सहकार्यमा नै व्यवस्थित रुपमा संचालनमा आएको बताउनुभयो । उहाँले होल्डिङ स्टेसन संचालनका लागि मकवानपुरका स्थानीय तहहरुबाट २÷२ लाखको प्रतिबद्धता आएको र कतिपय स्थानीय तहले रकम समेत जम्मा गरिसकेको जानकारी दिनुभयो । त्यस्तै होल्डिङ स्टेसनका लागि प्लान ईन्टरनेशनल नेपालद्धारा ६७ थानका दरले बाल्टीन, कम्बल, म्याट र मग, रोट्रयाक्टबाट २० थान झुल, लियो लायन्स कल्बद्धारा ह्यान्डलेस धारा, सहयोगी मन नेपालबाट खानेपानी, मास्क र आवश्यक्ता अनुसार गाडी सुविधा, उद्योग वाणिज्य संघको समन्वयमा चिउरा, चाउचाउ, दालमोठ र बोर्ड लिङ्कसको ईन्टरनेट सेवा, उद्योगसंघ नेपालबाट सेनीटाइजर, हेटौंडा उपमहानगरपालिकाबाट डिसईन्फेक्सन गर्ने स्प्रे मेसिन, जिल्ला प्रशासन कार्यालयबाट डिस ईन्फेक्सन केमिकल, नेपाली सेनाबाट सुरक्षा र शसस्त्र प्रहरीबाट बाहीरी घेराबारा तथा सरसफाईमा सहयोग प्राप्त भएको जानकारी दिनुभयो ।
त्यस्तै जिल्ला समन्व्य समितिबाट होल्डिङ स्टेसनमा तन्ना, तकिया, तातोपानी, सरसफाई कर्मचारी, फोकल पर्सनलगायत अन्य व्यवस्थापनको काम भएको समेत उहाँले जानकारी दिनुभयो । उहाँले श्री कृष्ण प्रणमी समाज मकवानपुरबाट नियमित रुपमा उनिहरुलाई खाना खुवाउने काम भएको र उक्त सहयोग सबै भन्दा ठुलो सहयोग पाईएको उहाँले बताउनुभयो । उहाँले श्री कृष्ण समाजलगायत सहयोगि सबैलाई धन्यवाद दिँदै आगमी दिनमा निरन्तर सहयोगकोलागि आग्रह गर्नुभयो । बैठकमा जिल्ला समन्वय समितिकी उपप्रमुख भगवती पुडासैनी, प्रमुख जिल्ला अधिकारी दिपकराज नेपाल, समन्व्य अधिकारी आनन्दराज पोखरेललगायत होल्डिङ स्टेसन संचालन तथा व्यवस्थापनका लागि निर्माण भएको सहयोगी संघ÷संस्थाका प्रमुख एवम् प्रतिनिधिहरुको उपस्थिती थियो ।











