हेटौंडा– राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन भएको छ । १०१ वर्षको उमेरमा आज साँझ ५ बजेर ५५ मिनेट जाँदा राष्ट्रकवि घिमिरेको निधन भएको हो । नेपाली साहित्यको क्षेत्रमा पुयाउनुभएको योगदानको कदर गर्दै सरकारले घिमिरेलाई राष्ट्रकविको उपाधी दिएको हो ।

घिमिरे १९७६ साल असोज ७ गते लमजुङ (पहिलेकाे बाहुनडाँडा गाविस) को भीरपुस्तुन भन्ने ठाउँमा जन्मनुभएको हो । उहाँले कवितासँगै साहित्यका अन्य विधामा पनि कलम चलाउनुभएको छ । घिमिरेले कविता, खण्डकाव्य, गीतिनाटक, कथा, अनुवाद, लेख, प्रबन्धलगायतका क्षेत्रमा कलम चलाउनुभएको छ । तीमध्ये राष्ट्रकवि घिमिरेका गौरी शोक काव्य सबैभन्दा चर्चित छ । उहाँका ‘नवमञ्जरी’, ‘घामपानी’, ‘नयाँ नेपाल’ र ‘किन्नरकिन्नरी’ आदि कविता सङ्ग्रह प्रकाशित छन् । स्वच्छन्दतावादी भावधाराका कवि घिमिरेका ‘गाउँछ गीत नेपाली’ जस्ता कैयौँ राष्ट्रिय भावका गीत तथा कविताहरू लोकप्रिय छन् । घिमिरेको भोलि बुधबार अन्त्येष्टि गरिने बताइएको छ । राष्ट्रकविको अत्येष्टिका लागि सरकारले नेपाली सेनालाई जिम्मा दिएको छ ।