नेपालमा अहिलेसम्म दुई हजार एक सय बढी कोरोना सङ्क्रमित उपचारपछि निको भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा तीन सय ७० सङ्क्रमित उपचारपछि निको भएर डिस्चार्ज भएसँगै कोरोनाबाट निको भएर डिस्चार्ज हुनेको सङ्ख्या दुई हजार एक सय ४२ पुगेको हो ।
त्यस्तै आज पीसीआर विधिबाट ६ हजार एक सय ९८ जनाको परीक्षण भएको छ । आजसम्म पीसीआर विधिबाट एक लाख ८१ हजार तीन सय ७१ जनाको पीसीआर परीक्षण भएको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताउनुभयो ।
यस्तै आरडीटी विधिबाट आज पाँच हजार नाै सय २९ गरी दुई लाख ६८ हजार एक सय तीन जनाको परीक्षण भएको छ । अहिले देशभरिका क्वरेण्टीनमा ९० हजार सात सय ३० जना रहेका छन् । सात हजार सात सय ८९ जनाको विभिन्न अस्पतालका आइसोलेशनमा उपचार भइरहेको छ ।
सोमबार नेपालमा ७४ महिला र चार सय ६१ पुरुष गरी पाँच सय ३५ जना नयाँ कोरोना सङ्क्रमित थपिएका छन् । मन्त्रालयका प्रवक्ता डा. गाैतमका अनुसार रसुवाबाहेक नेपालका ७६ जिल्लामा अहिलेसम्म नाै हजार पाँच सय ६१ जनामा कोरोना सङ्क्रमण देखिएको छ । नेपालमा काेराेना सङ्क्रमणकाे कारण २३ जनाकाे मृत्यु भएकाे छ ।











