हेटाैंडा– बागमती प्रदेशमा कोरोना संक्रमितको कूल संख्या २१२ पुगेको छ । आईतबार थप २७ जनामा कोरोना पुष्टि भएसँगै संक्रमितको कूल संख्या २१२ पुगेको हो । आइतबार धादिङका २५ जना र रामेछापका २ जना गरी २७ जनामा कोरोना पुष्टि भएको समाजिक विकास मन्त्रालयले जनाएको छ । बागमती प्रदेशमा सबैभन्दा बढी संक्रमित धादिङ जिल्लामा रहेको छ भने सबैभन्दा कम संक्रमित दोलखा जिल्लामा रहेको छ । प्रदेशको धादिङ जिल्लामा ८३, रामेछापमा २१, दोलखामा २, सिन्धुलीमा ५, सिन्धुपाल्चोकमा ५ र मकवानपुरमा ६ जनामा कोरोना पुष्टि भएको छ ।

त्यस्तै काठमडौं जिल्लामा ३०, ललितपुरमा ३, भक्तपुरमा ६, काभ्रेमा ६, चितवनमा ३७ र नुवाकोटमा ८ जनामा संक्रमणको पुष्टि भएको छ । प्रदेशका १३ जिल्लामध्ये रसुवा बाहेक १२ जिल्लामा कोरोना संक्रमित फेला परेको मन्त्रालयले जनाएकाे छ । बागमती प्रदेशमा कोरोना संक्रमणबाट हालसम्म ४ जनाको मृत्यु भएको छ । हाल सम्म सिन्धुपाल्चोकका एक जना, चितवनका एक जना, ललितपुरका एक जना र दोलखाकाे ज्यान गएकाे हाे । साथै प्रदेशमा कोरोना संक्रमण निको हुनेको संख्या ४६ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएकाे छ ।

नेपालमा आइतबार मात्रै ४२५ जनामा कोरोना पुष्टि भएको छ । योसँगै हालसम्म कूल संक्रमितको संख्या ५ हजार ७ सय ६० पुगेको छ । त्यस्तै नेपालमा निको हुनेको कूल संख्या ९७४ पुगेको छ भने मृतको संख्या १९ पुगेको छ ।