आज थप ४ सय २५ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएसँगै नेपालमा कुल संक्रमितको संख्या ५ हजार ७ सय ६० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आजको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जोगश्वर गौतमले आज विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ३ सय ७५ जना पुरुष र ५० जना महिलामा संक्रमण पुष्टि भएको जानकारी दिनुभयो ।
प्रवक्ता डा गौतमले दिनुभएको जानकारी अनुसार आज प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा मोरङका २५ जना, झापा र सुनसरीका १–१ जना, कोशी अस्पताल विराटनगरमा गरिएको परीक्षणमा सप्तरीका १० जना, नारायणी अस्पताल विरगञ्जमा गरिएको परीक्षणमा पर्साका १७ जना, बाराका ९ जना, रौतहटका ७ जना र सर्लाहीका १ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा गरिएको परीक्षणमा नवलपरासी पूर्वका २ जनामा संक्रमण पुष्टि भएको छ ।
यसैगरी सेती अस्पताल कैलालीमा गरिएको परीक्षणमा बझाङका ५ जना, डडेलधुराका २४ जना, डोटीका ३ जना, कैलालीका १२ जना र कञ्चनपुरका २० जना, भेरी अस्पताल बाँकेमा गरिएको परीक्षणमा बर्दियाका ३ जना, बाँकेका ३ जना, रुपन्देही पश्चिमका १ जना, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरिएको परीक्षणमा प्युठानका २ जना र दाङका ५४ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा गरिएको परीक्षणमा रौतहटका १७ जना र धनुषाको १ जना, धुलिखेल अस्पतालमा गरिएको परीक्षणमा रामेछापका २ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
यस्तै, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा रुपन्देहीका २० जना, पाल्पाका १७ जना, गुल्मीका ८ जना, नवलपरासी पश्चिमका २ जना, प्रादेशिक अस्पताल सुर्खेतमा गरिएको परीक्षणमा सुर्खेतका ४० जना र दैलेखका २९ जना, किटजन्य रोग अन्वेषण तालिम केन्द्र हेटौंडामा गरिएको परीक्षणमा रौतहट र सिन्धुलीका १–१ जना, शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पताल टेकुमा गरिएको परीक्षणमा धादिङका २५ जना, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा रौतहटका ५१ जना, रुपन्देहीका ६ जना र सर्लाहीका ५ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा गौतमले जानकारी दिनुभयो ।
नेपालमा हाल सम्म ७३ जिल्लाका ५ हजार ३ सय २४ जना पुरुष र ४ सय ३६ जना महिलामा संक्रमण पुष्टि भएको छ । मन्त्रालयले दिएको जानकारी अनुसार आज ७३ औं जिल्लाका रुपमा रुकुम पश्चिममा संक्रमण पुष्टि भएको छ ।
नेपालमा कोरोना भाईरसको संक्रमण पछि मृत्यु हुनेको सख्या १९ पुगेको छ ।
गुल्मीको रेसुङ्गा नगरपालिका वडा नं. ९ तम्घासमा रहेको आईसोलेसनमा गुल्मी धुर्कोटका ३६ वर्षिय पुरुषको मृत्यु भएपछि मृतकको संख्या १९ पुगेको मन्त्रालयका प्रवक्ता डा गौतमले जानकारी दिनुभयो । मृतक पुरूषको प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा जेष्ठ १२ गते कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । मृतक पुरुष क्यान्सर रोगबाट समेत पीडित रहेको मन्त्रालयका प्रवक्ता डा गौतमले जानकारी दिनुभयो ।
यसैगरी आज थप ६१ जना कोरोना मुक्त भई डिस्चार्ज भएसंगै हाल सम्म कोरोना मुक्त भई घर फर्किनेको कूल संख्या ९ सय ७४ पुगेको छ । आज नारायणी अस्पताल विरगञ्जबाट १२ जना, पाटन अस्पताल ललितपुरबाट १ जना, विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट ३ जना, नर्सिङ इन्ष्टिच्युट गौर रौटहटबाट ९ जन , डडेलधुरा जिल्ला अस्पतालबाट ५ जना, दार्चुला जिल्ला अस्पतालबाट १ जना, डोटी जिल्ला अस्पतालबाट १ जना, सेती प्रादेशिक अस्पताल कैलालीबाट ६ जना, सहपूर्व आईसोलेसन बाँकेबाट ८ जना, सुशील कोईराला प्रखर क्यान्सर अस्पताल खजुरा बाँकेबाट ८ जना र कोरोना विशेष अस्पताल दाङबाट ६ जना कोरोना मुक्त भई घर फर्किएको मन्त्रालयका प्रवक्ता डा गौतमले जानकारी दिनुभयो ।
मन्त्रालयका अनुसार आज ५५ जना पुरुष र ६ जना महिला संक्रमण मुक्त भएका छन् भने हाल सम्म जम्मा ८ सय ७७ जना पुरुष र ९७ जना महिला कोरोना संक्रमण मुक्त भएका छन् । देशका विभिन्न प्रयोगशालाहरुमा गरी हाल सम्म जम्मा १ लाख ३३ हजार ३ सय ७७ जनाको पिसीआर तथा २ लाख १० हजार ७ सय २१ जनाको आरडिटी विधिबाट परीक्षण गरिएको छ । पछिल्लो २४ घण्टामा ६ हजार ८९ जनाको पिसीआर तथा २० हजार १ सय ३९ जनाको आरडिटी विधिबाट परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।
यसैगरी आज देश देशका विभिन्न स्थानमा रहेका क्वारेन्टाइनमा १ लाख ४३ हजार ६ सय ४१ जना रहेका छन् भने विभिन्न आईसोलेसन स्थलहरुमा ४ हजार ७ सय ६७ जना रहेको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिनुभयो ।











