हेटौडा – मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ५ बसन्तपुरमा नवनिर्मित वडा कार्यालय भवन उद्घाटन गरिएको छ । बुधबार गाउँपालिका अध्यक्ष एकराज उप्रेतीले नवनिर्मित वडा कार्यालय उद्घाटन गर्नुभएको हो ।

वडा कार्यालय उद्घाटन गर्नुहुँदै प्रमुख अतिथि अध्यक्ष उप्रेतीले युगौ देखिको बलिदानलाई संघिय गणतन्त्र सस्थागत गर्ने हिसाबले गाउँ–गाउमा सिंहदरबारको योजना अनुरुप वडाबासीको इमान्दारिता र धैर्यताले नवनिर्मित वडा भवन उद्घाटन गर्न सफल भएको बताउनुभयो । नव निर्मित भवनको संरक्षण र सम्बद्धन गर्ने दायित्व राजनैतिक दल देखि स्थानीय वडाबासिन्दाको रहेको अध्यक्ष उप्रेतीले बताउनुभयो ।
१ करोड १३ लाखमा सम्झौता भई निर्माण शुरु गरिएको वडा भवन १८ महिनाको कार्य सम्झौता अवधिमा कोरोना भाइरसको सक्रमण र निषेधाज्ञाले गर्दा ६ महिना सम्झौता थप गरि निर्माण सम्पन्न भएको हो । गाउँपालिका भित्र वडा भवन निर्माण सम्पन्न भएको दोस्रो भएपनि निर्माण सम्पन्न पुरा भई उद्घाटन चाही पहिलो भएको हो । नवनिर्मित भवन १५ कोठे रहेको छ । ५ नम्बर वडाका वडाअध्यक्ष शुभराज थिङ्गको सभाध्यक्षतामा उद्घाटन कार्यक्रम भएको हो ।