मकवानपुर– मकवानपुरमा बाहिरी जिल्लाबाट हरियो तरकारीजन्य सामग्रीहरु ढुवानी गरेर नल्याउन आग्रह गरिएको छ । बिहीबार बसेको कमाण्ड पोष्टको बैठकले कोभिड–१९ को संक्रमण फैलिएका जिल्लाबाट हरियो तरकारीजन्य सामग्री ढुवानी गरि नल्याउन आव्हान गर्ने निर्णय गरेको हो ।
जिल्ला समन्वय समिति (जिसस) मकवानपुरका प्रमुख रघुनाथ खुलालको बिशेष उपस्थितीमा बसेको बैठकले सरकाले जारी गरेको लकडाउनलाई जिल्लामा प्रभावकारीरुपमा कार्यान्वयन गर्ने गराउने समेत निर्णय गरेको छ । त्यस्तै स्थानीय स्तरमा हुने आवागमन उपर निगरानी राख्न स्थानीय तहका सबै वडा र वस्तीस्तरको प्रभावकारी निगरानी समुह गठन तथा परिचालन गर्न जिससले स्थानीय तहलाई पत्रचार गर्ने र सो सम्बन्धमा भए गरेका गतिविधिको विवरण जिल्ला प्रशासन कार्यालयमा उपलब्ध गराउने निर्णय गरेको छ ।
त्यस्तै बैठकले मकवानपुरका सबै बैंकहरु दैनिक बिहान १० बजे देखि १ बजे सम्म अनिवार्य रुपमा खुल्ला रहने र बैंक बन्द भएको खण्डमा बैंकर्स एसोशिएसनका अध्यक्ष रमेश प्याकुरेलको नम्बर ९८५१०४२५५७ मा सम्पर्क गर्न सकिने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालले जानकारी दिनुभयो । त्यस्तै विद्युत महसुल भुक्तानीका लागि बिहान ५ बजे देखि १० बजे सम्म काउण्टर खुल्ला रहने र मिटर रिडिङ गर्ने कार्य समेत सुरु रहेको विद्युत प्रधिकरणले बैठकमा जानकारी गराएको उहाँले बताउनुभयो ।
त्यस्तै हेटौंडा–१० स्थित तरकारी बजारबाट हुने विक्री वितरणलाई थप व्यवस्थित बनाउन हेटौंडा उपमहानगरपालिकाले सम्बन्धीत पक्षसंग समन्वय गरेर आवश्यक पहल गर्ने निर्णय गरेको उहाँले जानकारी दिनुभयो । बैठकमा प्रजिअ नेपालले राप्रपा मकवानपुरले जिल्लाका लागि १० थान थर्मल गन र एक हजार थान मास्क उपलब्ध गराएको जानकारी गराउनुभएको थियो । सहयोगका लागि कमाण्ड पोष्टका तर्फबाट राप्रपा मकवानपुरलाई हादिृक धन्यवाद व्यक्त गरेको उहाँले बताउनुभयो ।
त्यस्तै आजै रोटरी क्लब अफ हेटौंडाले १५ सय थान थ्रि लेयर्स मास्क र फुल सेट पिपीई १० थान समेत उपलब्ध गराएको प्रजिअ नेपालले बताउनुभयो । रोटरी क्लबले जिल्ला समन्वय समिति र जिल्ला प्रशासन कार्यालयलाई एक÷एक सय थान मास्क , हेटौंडा औद्योगिक क्षेत्र सुरक्षा बललाई एकसय थान मास्क र दुइ थान पीपीइ, नेपाल प्रहरी लाई तीनसय थान मास्क र दुइथान पीपीइ, सशस्त्र प्रहरीलाई तीनसय थान मास्क र दुइ थान पीपीइ, हेटौडा उपमहानगरपालिकालाई दुइसय थान मास्क तथा जिल्ला बिपद ब्यवस्थापन समितिलाई चारसय थान मास्क र ४ थान पीपीइ सहयाेग गरेको छ ।