हेटाैंडा– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय समितिको बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको बैठकमा बिहीबार बस्ने भनिएको नेकपा स्थायी कमिटीको बैठकबारे छलफल हुने नेताहरुले बताएका छन् । यसअघि वैशाख २० गते बसेको बैठकले बिहीबारका लागि स्थायी कमिटी बैठक बोलाएको थियो । उक्त बैठकको एजेण्डाबारे छलफल गर्न बुधबार नेकपा सचिवालयको बैठक बसेको हो । स्थायी कमिटी बैठकमा पेश गर्ने प्रस्ताव तयार गर्ने जिम्मा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र महासचिव विष्णु पौडेललाई दिइएको छ । तर प्रस्तावको विषयमा सचिवालय बैठकमा एकमत छैन ।