हेटौंडा– नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ९९ पुगेको छ । बुधबार बिरगंजमा थप १७ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ९९ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले जानकारी दिनुभयो ।
बुधबार मन्त्रालयमा आयोजित नियमित मिडिया ब्रिफिङमा बिरगंजका १७ जनामा संक्रमण पुष्टि भएको उहाँले जानकारी दिनुभयो । संक्रमण हुनेहरुमा ७ महिला र १० पुरुष रहेको तथा उनिहरुको उमेर दुई महिना देखि ६६ वर्ष सम्म रहेको उहाँले जानकारी दिनुभयो ।
प्रवक्ता देवकोटाका अनुसार नेपालमा हालसम्म ७१ पुरुष र २८ महिलामा कोरोनाको संक्रमण पुष्टि भएको छ । हाल सम्म प्रदेश नम्बर १ मा ३१ जना, प्रदेश २ मा ३० जना, बागमती प्रदेशमा ७ जना, गण्डकी प्रदेशमा २ जना, प्रदेश ५ मा २४ जना र सुदुर पश्चिम प्रदेशमा ५ जनामा संक्रमण पुष्टि भएको छ । कर्णली प्रदेशमा हाल सम्म संक्रमण नदेखिएको समेत उहाँले बताउनुभयो । संक्रमित सबैको स्वास्थ्य उपचार भईरहेको तथा अवस्था सामान्य रहेको उहाँले जानकारी दिनुभयो । हालसम्म नेपालमा संक्रमण पुष्टि भएकामध्ये २२ जना निको भएर घर फर्किएको समेत उहाँले जानकारी दिनुभयो ।
