मकवानपुर– मकवानपुरमा बाहिरी जिल्लाका मानिस प्रवेशमा थप कडाई गरिने भएको छ । मंगलबार बसेको कमाण्ड पोष्टको बैठकले अति आवश्यक कामका सन्दर्भमा बाहिरी जिल्लाबाट आउने कर्मचारीलाई समेत अनिवार्य पिसीआर परिक्षण गरेर मात्र जिल्ला प्रवेश गर्न दिने निर्णय गरेको छ । बिशेष गरि तराईका जिल्लाबाट मकवानपुर प्रवेश गर्नेहरुलाई कडाई गरिने भएको हो ।
जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालको उपस्थितीमा बसेको बैठकले बाहिरी जिल्लाबाट अति आवश्यक परेर आउनु परेमा पिसीआर परिक्षण पश्चात मात्र जिल्ला प्रवेश गर्न दिने निर्णय गरेको छ । यस अघि अन्य जिल्लाबाट आएकाहरुको ¥यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) परिक्षण गर्ने गरिएको भए पनि अब पिसीआर परिक्षण पश्चार मात्र प्रवेश गर्न दिने निर्णय गरेको उहाँले बाउनुभयो । जिल्लामा विकास निर्माण, कृषि उपज एवम् उद्योग सञ्चालन भएको हुनाले ती कार्यकालागि अति आवश्यक मानिस अन्य जिल्लाबाट आउनु परेमा अनिवार्य पिसीआर परिक्षण गरेर मात्र प्रवेश गर्न दिइने उहाँले बताउनुभयो ।
त्यस्तै बैठकले स्थानीय तहमा संचालित विकास निर्माण कार्यका लागि सवारी साधनलाई सिफारीस दिँदा स्थानीय तहका प्रमुख अथवा प्रमुख प्रशासकिय अधिकृतको सिफारीसमा मात्र दिनुपर्ने निर्णय गरेको छ । सवारी पासको दुरुपयोग रोक्नका लागि स्थानीय तहका प्रमुख वा प्रमुख प्रशासकिय अधिकृतको सिफारीसमा मात्र सवारी पास उपलब्ध गराउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालले बताउनुभयो । स्थानीय तहलाई त्यस्ता सवारी साधनको नम्बर, कामको प्रकृति, प्रयोजनलगायत खुलाएर तथ्य बुझेर मात्र सिफारिस गर्न र सिफरीस गरिएका सवारी साधनका बारेमा जिल्ला समन्वय समितिको कार्यालय, जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयमा अनिवार्य जानकारी गराउनु पर्ने निर्णय गरेको प्रजिअ नेपालले बताउनुभयो । सवारी चालकसंग स्थानीय तहले दिएको सिफारीस पत्र हरदम साथमै हुनु पर्ने समेत उहाँले जानकारी दिनुभयो ।
जिल्लामा उत्पादित तरकारी विक्री वितरणका लागि सहकारी मार्फत पहल गर्ने निर्णय गरेको छ । सहकारी संस्थाहरुसंग आजै दिउँसो छलफल गरेर कुन मोडलमा जाने भन्ने बारे थप निर्णय गरिने उहाँले बताउनुभयो । साथै जिल्लामा रसायनीक मल उपलब्ध गराउने सन्दर्भमा मल आपुर्तीका लागि पहल भएको समेत प्रमुख जिल्ला अधिकारी नेपालले जानकारी दिनुभयो । प्रजिअ नेपालकै समन्वयमा ७५ टन युरीया मल आपुर्ती गर्ने व्यवस्था मिलाईएको समेत उहाँले बैठकमा जानकारी गराउनुभएकाे छ । त्यस्तै बैठकले हेटौंडा बजार क्षेत्रमा बिहान बेलुका भिडभाड बढेको पाईएकाले त्यसमा कडाई गर्ने निर्णय गरेको छ । बजार क्षेत्रमा बिहान मार्नीङ्वाक हिड्नेहरुका कारण भडिभाड बढेको पाईएकाले त्यसलाई नियन्त्रण गर्ने निर्णय गरेको हो । बैठकले बिना कारण घर बाहिर अनावश्यक रुपमा ननिस्कन आग्रह गर्दै जबरजस्ती गरेमा कानुनी कारबाही हुने समेत जनाएको छ ।