मकवानपुर– मकवानपुरको महनहरी गाउँपालिका देशमै पहिलो बालमैत्री स्थानीय शासन युक्त गाउँपालिका घोषणा भएको छ । बालमैत्रीका क्षेत्रमा गरेका कामलाई जिल्ला समन्वय समिति मकवानपुरले अनुगमन गरेर बालमैत्रीका सुचकहरु पुरा गरेर घोषणाकालागि योग्य भनि प्रमाणित गरेपछि सोमवार एक समारोहवीच कार्यक्रमका प्रमुख अतिथी एवं उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलले गाउँपालिकालाई वालमैत्री स्थानीय शासन युक्त गाँपालिका घोषणा गर्नुभएको हो ।

वालमैत्री हुनका लागि आवश्यक पर्ने सवै ३९ वटै सुचकहरु पुरा गरेकाले गाउँपालिकालाई वालमैत्री घोषणा गरिएको हो । गाउँपालिकालाई बालमैत्री गाउँपालिका घोषणा गर्नुहुँदै उपप्रधान तथा रक्षा मन्त्री पोखरेलले सरकारले लिएको लक्ष्य र अन्तराष्ट्रि प्रतिबद्धता अनुसार गाउँपालिकाले गरेको कामको प्रशंसा गर्नुभयो । बालमैत्री गाउँपालिका घोषणा गर्दै उपप्रधान तथा रक्षा मन्त्री पोखरेलले मुलुकलाई नै वालमैत्री वनाउने सरकारको उद्देश्य अनुरुप मनहरी गाउँपालिकाले उक्त कार्यको सुरुवात गरेकोमा वधाई दिनुभयो । उहाँले तीन तहका सरकार मिलेर नै राष्ट्रलाई समृद्ध बनाउन सकिने समेत बताउनुभएको छ । स्थानीय सरकारले गर्ने यस्ता कार्यहरुमा केन्द्र सरकार सहयोग गर्न सदैब प्रतिबद्ध रहेको समेत उहाँले बताउनुभयो ।

मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीको अध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडैलले प्रदेश सरकारले प्रदेशका सवै पालिकाहरुलाई वालमैत्री वनाउने लक्ष्य रहेको वताउनुभयो । वालमैत्री गाउँपालिका घोषणासंगसंगै यस्लाई निरन्तरता दिन सक्रिय र जागरुक हुनु पर्ने मुख्यमन्त्री पौडेलको भनाई थियो । प्रदेश सरकारले २०८० सालभित्र प्रदेश— ३ लाई नै बालमैत्री प्रदेश घोषणा गर्ने लक्ष्य लिएको भन्दै मनहरी गाउँपालिका यसमा पहिलो हुन सफल भएकोमा बधाई समेत व्यक्त गर्नुभयो ।

बालविवाहको उच्च जोखिममा रहेको मनहरी गाउँपालिकाले करिब डेढ वर्षदेखी विभिन्न कार्यक्रम सञ्चालन गरी बालबालिका मैत्री बनाउने अभियान सञ्चालन गरिएको थियो । गाउँपालिकाको तथ्याङ्क अनुसार १५ हजार सात सय ३९ जना बालबालिका रहेको गाउँपालिकामा एक हजार दुइ सय १६ जनाले ५ वर्षमा अर्थात २०७० सालदेखी ०७५ सालसम्म बालविवाह गरेका थिए । २०७६ सालको पुस महिनासम्म भएका र हुन लागेका ११ वटा वालविवाहहरु गाउँपालिकाको अगुवाईमा रोकेको थियो । गाउँपालिका बालविवाह र बालश्रमको उच्च जोखिममा रहेकाले त्यसलाई न्यूनीकरण गर्दै गाउँपालिकालाई बालमैत्री घोषणा गर्न सफल भएको गाउँपालिका अध्यक्ष एक राज उप्रेतीले बताउनुभयो । घोषणासभामा अर्थ समितिका सभापति कृष्णप्रसाद दहाल, संघीय सांसद विरोध खतिवडा, प्रदेश सांसद मुनु सिग्देल, जिल्ला समन्वय समिती मकवानपुरका प्रमुख रघुनाथ खुलाल, उपप्रमुख भगवती पुडासैनी, भीमफेदी गाउँपालिका अध्यक्ष हिदम लामा, कैलाश गाउँपालिका अध्यक्ष टंक मोक्तान लगायतको आतिथ्यता थियो ।

फाेटाे फिचर