मकवानपुर– १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा प्रतिनिधित्व गरेर पदक प्राप्त गर्ने मकवानपुरका खेलाडीहरुलाई आज नगद सहित सम्मान गरिएको छ । मंगलबार जिल्ला समन्वय समिति मकवानपुर र हेटौंडा उपमहानगरपालिकाले संयुक्त रुपमा एक कार्यक्रमको आयोजना गरेर सागमा पदक विजेता खेलाडी तथा प्रशिक्षकहरुलाई सम्मान गरेको हो ।
खेलाडीहरुलाई राष्ट्र र जिल्लाको नाम उच्च गर्न सफल भएको भन्दै हौसला स्वरुप झाँकी सहित नगर परिक्रमा गराउनुका साथै नगद सहित सम्मानीत गरिएको थियो । १३ औं सागमा सहभागि मध्ये मकवानपुबाट ४ जनाले स्वर्ण, ४ जनाले रजत र ५ जनाले काश्य गरि १३ जनाले पदक प्राप्त गरेका छन् । सबै खेलाडीहरुलाई आज एक समारोहका बिच हेटौंडा उपमहानगरपालिकाले क्रमश १ लाख, ७५ हजार र ५० हजार तथा जिल्ला समन्वय समितिले २५ हजार, २० हजार र १५ हजार नगद सहित सम्मान गरेको हो । सागमा स्वर्ण पदक विजेता फुटबलका सुनिल बल, कराँतेका महसुस मोक्तान, तेक्वान्दोका संजिवकुमार ओझा र निशा दर्नाल, रजत पदक विजेता उसुकी शिलु डंगोल, बास्केटबलकी माया स्यांतान र निकेश मगर, हेन्डबलकी देवकुमारी बास्कोटा तथा कास्य पदक विजेता कराँतेतर्फ रिता कार्की, उसुका हरिप्रसाद गोले, खोखोका राजन बल, बक्सिङका पुरन राई र विकास लामालाई सम्मान गरिएको थियो ।
त्यस्तै १३ औं सागमा सहभागि मकवानपुरका एकजना प्रशिक्षकसहित जिल्लाका अन्य विभिन्न प्रशिक्षकहरुलाई समेत कार्यक्रममा नगद सहित सम्मान गरिएको थियो । सागमा सहभागि भएर स्वर्ण पदक जिताउन सफल उसुका प्रशिक्षक विमल थापा मगरलाई हेटौंडा उपमहानगरपालिकाले २५ हजार र जिससले ५ हजार प्रदान गरेको थियो । भने अन्य प्रशिक्षकहरुलाई क्रमश हेटौंडा उपमहानगरपालिकाले नगद ७ हजार र जिल्ला समन्वय समितिले ५ हजार रकम प्रदान गरेको हो । प्रशिक्षक तर्फ बक्सिङका प्रशिक्षक लालबहादुर पौडेल, कराँते प्रशिक्षक नरेन्द्र श्रेष्ठ, तेक्वान्दो प्रशिक्षक माधव कोइराला र फुटबल प्रशिक्षक विजयलाल श्रेष्ठलाई सम्मान गरिएको थियो ।
जिल्ला समन्वय सहित र हेटौंडा उपमहानगरपालिकाको संयुक्त आयोजनामा पदक बिजेता खेलाडिहरू तथा प्रशिक्षकहरुलाई प्रमाण पत्र र नगद सहित सम्मान गरेको थियो । हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालको प्रमुख आतिथ्याता रहेको थियो । कार्यक्रममा जिसस उप–प्रमुख भगवती पुडासैनी, हेटौंडा उपमहानगपालिकाकी उपमेयर मिना कुमारी लामा लगायतको सहभागिता थियो ।