फोटो-गुगल

हेटौंडाः प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) ले प्राविधिक शिक्षा अध्यापन गर्नका लागि मकवानपुरका ७ वटा सामुदायिक विद्यालयलाई सम्बन्धन प्रदान गरेको छ । सीटीईभीटीद्वारा सामुदायिक विद्यालयमा प्रविधिक शिक्षा कार्यक्रम अन्तर्गत छनोटमा परेका जिल्लाका ७ वटा सामुदायिक विद्यालयलाई सम्बन्धन प्रदान गरेको हो । सीटीईभीटी अन्तर्गत संचालन हुने प्राविधिक शिक्षा संचालनका लागि जिल्लाका ६ विद्यालयलाई ३ वर्षे तथा एउटा विद्यालयलाई १८ महिने प्राविधिक विषय अध्यापन गराउन सम्बन्धन प्रदान गरेको हो । विद्यालयहरुले आफ्नै स्रोतबाट प्राविधिक शिक्षा कार्यक्रम संचालन गर्नका लागि स्थानीय तहको सिफारीसका साथ पेश गरेको प्रस्तावनाका आधारमा सम्बन्धन स्वीकृति प्रदान गरिएको छ ।
सीटीईभीटीले प्राविधिक धार मध्ये हेटौंडा उपमहानगरपालिका–४ मा रहेको भुटनदेवी माविलाई ३ वर्षे सिभिल ईन्जिनियरिङ, हेटौंडा–१९ मा रहेको निर्मल माविलाई ३ वर्षे ईलेक्ट्रिकल ईन्जिनियरिङ, हेटौंडा–२ मा रहेको सिद्धार्थ माविलाई ३ वर्षे वनविज्ञान, हेटौंडा–१६ स्थित जनप्रिय माविलाई ३ वर्षे ईलेक्ट्रिकल र हेटौंडा–६ मा रहेको वंशगोपाल माविलाई ३ वर्षे जिओ ईन्जिनियरिङ (अमिनी) अध्यापन गराउनका लागि अनुमति दिएको छ । जिल्लाको मनहरी गाउ“पालिका–८ स्थित महेन्द्र किरण माविलाई ३ वर्षे बालिविज्ञान र कैलाश गाउ“पालिकामा रहेको कालिका माविलाई पशुविज्ञान सम्बन्धी १८ महिने प्राविधिक शिक्षा संचालनका लागि सम्बन्धन दिएको छ । सीटीईभीटीले स्थलगत निरीक्षणका आधारमा सम्बन्धन दिने निर्णय गरेको जनाएको छ । सम्बन्धन प्राप्त गरेका सामुदायिक विद्यालयलाई सम्बन्धित कार्यक्रम संचालनको पूर्वाधार निर्देशिका बमोजिम पुर्वाधार तयार पार्न सीटीईभीटीले सूचना जारी गरेको छ । छनोट भएका विद्यालयलाई सम्बन्धित विषयका प्रशिक्षकको हकमा निजको नाम, सम्पर्क ठेगाना, फोन नम्बर र काम गर्ने प्रतिवद्धतासहित शैक्षिक योग्यताको प्रमाणपत्र संलग्न गरी पूर्वाधार तयार भईसकेको व्यहोरा खुल्ने पत्र १५ दिन भित्र पेश गर्न आग्रह गरेको छ । पत्र पेश भईसकेपछि मात्र विज्ञद्वारा निरीक्षण गरेर सम्बन्धनका विषयमा थप प्रक्रिया अगाडि बढाइने भएकाले परिषद्को कार्यालय सानो ठिमि भक्तपुरमा १५ दिन भित्र सम्पूर्ण कागजात पेश गर्न आग्रह गरेको छ । प्राविधिक विषयमा विद्यार्थी, अभिभावकको चासो र सहभागिता बढ्दो क्रममा रहेका कारण सरकारले प्राविधिक शिक्षाको विस्तारमा जोड दिदै आएको छ ।