हेटौंडाः हेटौंडा बसपार्कमा बगैंचा र ठेकी आकारको पानी ट्याङ्की निर्माण गरिने भएको छ । सत्य साईकेन्द्र ३ नम्बर प्रदेश समिति र हेटौंडा उपमहानगरपालिकाको संयुक्त लगानीमा हेटौंडा उपमहानगरपालिका–१० स्थित बसपार्कमा मकवानपुरको चिनारीका रुपमा रहेको ठेकी आकारको खानेपानी ट्याङ्की निर्माण निर्माण गर्न लागिएको हो । मकवानपुरको चिनारीलाई संरक्षण गर्न तथा पूर्व–पश्चिम राजमार्गमा यात्रा गर्ने यात्रुलाई सहज खानेपानी उपलब्ध गराउने उद्देश्यकासाथ बसपार्कको बीच भागमा ट्याङ्की निर्माण गर्न लागिएको हो ।

खानेपानी आयोजनाको उद्घाटन गर्दै हेटौंडा उपमहानगरपालिकाका मेयर हरि बहादुर महत


सत्य साईकेन्द्रले यात्रुलाई निशुल्क रुपमा प्रशोधित पिउने पानी उपलब्ध गराउने उद्देश्यकासाथ खानेपानी आयोजना निर्माण गर्न लागिएको हो । खानेपानी आयोजनाको बिहीबार हेटौंडा उपमहानगरपालिकाका मेयर हरि बहादुर महतले एक कार्यक्रमका बीच उद्घाटन गर्नुभएको छ । खानेपानी आयोजनाको उद्घाटन गर्नुहुँदै मेयर महतले ठेकी आकारको ट्याङ्कीले मकवानपुरको चिनारीको रुपमा रहेको ठेकी र मकवानपुर दुबैलाई चिनाउने बताउनुभयो । उहाँले बसपार्कमा धेरै मानिसहरुले सेवा लिन पाउने भएकोले यसको व्यवस्थापनमा विशेषगरी उक्त क्षेत्रका स्थानीयले ध्यान दिनुपर्ने बताउनुभयो । सत्य साईकेन्द्रको १५ लाख र १० नम्बर वडा कार्यालयको ७ लाखको लागतमा करिब ३५ सय लिटर क्षमताको खानेपानी ट्याङ्की निर्माण गर्न लागेको हो । ट्याङ्कीमा हेटौंडा खानेपानी बोर्डले नियमित निशुल्क खानेपानी उपलब्ध गराउने बताईएको छ ।
सत्य साईकेन्द्र ३ नम्बर प्रदेश समितिका अध्यक्ष नवराज बानियाँको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा १० नम्बर वडा अध्यक्ष किताप सिंह लामा, वडा सदस्य ईन्द्र नेपाल, हेटौंडा खानेपानी व्यवस्थापन बोर्डका अध्यक्ष प्रताप बिष्ट, सत्य साईकेन्द्रका राष्ट्रिय परिषद् सह–अध्यक्ष श्रीधरा बास्तोलालगायतको सहभागिता रहेको थियो ।