मकवानपुर– जिल्ला समन्वय समिति (जिसस) मकवानपुरका प्रमुख रघुनाथ खुलालको अगुवाईमा मंगलबार हेटौंडाका सडक पेटीमा बेसाहारा रहेका सहयोगापेक्षि सडक मानवहरुको उद्धार गरिएको छ । गएराती करीब ९ बजे सम्म हेटौंडा बजार क्षेत्रमा सडक सेवा प्रदान गरेर त्यस्ता सहयोगापेक्षीहरुको उद्धार गरिएको हो ।
मंगलबार हेटौंडा बजारमा ४ जना त्यस्ता व्यक्तिहरु भेटिएको भए पनि तीनजनालाई उनिहरुकै घरसम्म पु¥याएर व्यवस्थापन गरिएको तथा एक जनालाई हेटौंडा अस्पतालमा कोरोना परिक्षण पछि हेटौंडा–९ स्थित मानव सेवा आश्रममा निर्मित क्वारेन्टाईनमा ल्याएर राखिएको प्रमुख खुलालले बताउनुभयो । हेटौंडा–९, धाप स्थित मानव सेवा आश्रममा जिल्ला समन्वय समितिको मुख्य व्यवस्थापन एवम् ९ नम्बर वडा कार्यालय र मानव सेवा आश्रमको स्थानिय व्यवस्थापन साथै हेटौंडा अस्पतालको औषधोपचार व्यवस्थापनामा क्वारेन्टाईन निर्माण गरिएको छ । ६ बेडको क्वारेन्टाईनमा बुधबार (आज) बिहान पनि एक जनालाई उद्दार गरेर राखिएको मानव सेवा आश्रमले जनाएको छ । गएराती प्रमुख खुलालसहित ९ नम्बर वडा अध्यक्ष लक्ष्मण प्रसाद भण्डारी, हेटौंडा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रकाश पौडेल, मानव सेवा आश्रमका अभियन्ता सहित रात्रि सडक सेवा प्रदान गरिएको थियो । सडक सेवालाई निरन्तरता प्रदान गरिने समेत मानव सेवा आश्रमले जनाएको छ ।