हेटाैंडा– भारतमा देशव्यापी रुपमा जारी लकडाउनलाई केही खुकुलो पारिएको छ । गएरातिदेखि लकडाउन खुकुलो पारिएको हो । 

केन्द्रीय गृह मन्त्रालयले कोरोना महामारी नियन्त्रणमा जोड दिँदै कोरोनाको बढी सङ्क्रमण नदेखिएका ठाउँमा लकडाउन केही खुकुलो पार्ने निर्णय गरेको छ । तर लकडाउन वास्तविक परिस्थितिको यथोचित आकलन गरेर मात्रै खुकुलो बनाइने भारतीय सञ्चार माध्यमले जनाएका छन् । सरकारले ग्रामीण अर्थव्यवस्था परिवर्तनको लागि ग्रामीण क्षेत्रमा केही आर्थिक गतिविधि गर्न अनुमति दिएको बीबीसीले जनाएको छ ।  

यस्तै राज्य सरकारले ठूला औद्योगिक क्षेत्रमा सञ्चालनमा विशेष ध्यान दिन पनि निर्देशन दिएको छ । विशेषगरी यस्ता इकाईमा मजदुरलाई परिसरमै रहने व्यवस्था गर्न पनि सरकारले जोड दिएको छ । यसअघि गएको मङ्गलबार प्रधानमन्त्री नरेन्द्र मोदीले सर्तसहित लकडाउन खुकुलो पार्ने बताउनुभएको थियो । त्यही निर्णयअनुसार गएको बुधबार भारत सरकारले निर्देशिका जारी गरेको थियो । त्यही निर्देशिकाअनुसार आजदेखि लकडाउन खुकुलो पारिएको हो । 

कुन कुन क्षेत्रमा लकडाउन खुकुलो पारिएको छ ? 

– खेती, बागवानी र कृषिसँग जोडिएका गतिविधि सुचारु गर्न अनुमति । 
– सबै स्वास्थ्य सेवा सुचारु हुने ।
– कामदारलाई काम गर्न दिइने तर सामाजिक दूरी भने पालना गर्नुपर्ने ।
– कृषिसँग जोडिएका सामान, कारखाना र ढुवानीसँग सम्बन्धित काम हुने ।
–औषधि बनाउने कम्पनी र मेडिकल उपकरण बनाउने कम्पनी खुल्ने ।
–चिया, कफी र रबर उद्योग ५० प्रतिशत कर्मचारी राखेर सुचारु गर्न अनुमति । 
–तेल र ग्याससँग सम्बन्धित सबै गतिविधि जारी रहने ।
–हुलाक सेवा जारी रहने । 
–गौशाला र जनावरको संरक्षण क्षेत्र खुल्ने ।
–आवश्यक औषधि आपुर्ति जारी रहने ।
–निर्माण कामको लागि अनुमति ।
–राजमार्गका पसल, ट्रक बनाउने ग्यारेज र सरकारी कामसँग सम्बन्धित कल सेन्टर सुचारु । 
–विद्युतीय, आईटी मर्मत गर्ने व्यक्ति, पलम्बर, मोटर मेकानिक, सिकर्मी र त्यस्तै स्वरोजगार गर्नेलाई काम गर्न दिइने ।

तर, यी सबै छुट कोरोनाको सङ्क्रमण धेरै देखिएका ठाउँमा लागु हुने छैन । ग्रामीण क्षेत्रमा चलिरहेको उद्योगधन्दा खोल्न अनुमति दिइने छ । यसको लागि सामाजिक दूरी भने पालना गर्नुपर्ने छ ।