मकवानपुर– मकवानपुरको उत्तरी क्षेत्रमा उत्पादित तरकारीले बजार नपाएको तथा विकास निमार्णका काम सुरु गर्न नसकिएको (ठप्प भएकाे) भन्दै स्थानीय तहहरुले गुनासो गरेका छन् । सोमबार जिल्ला समन्वय समिति (जिसस) मकवानपुरका प्रमुख रघुनाथ खुलालसंग उत्तरी मकवानपुरको थाहा नगरपालिका, भीमफेदी र ईन्द्रसरोवर गाउँपालिका जनप्रतिनिधिहरुले यस्तो गुनासो गरेका हुन् ।
सोमबार जिल्लाको तीनवटा स्थानीय तहमा पुगेर कोरोना भाईरस विरुद्धको तयारी, हालको अवस्था तथा सोका कारण स्थानीय तहहरुमा आइपरेका समस्या तथा प्रभावका विषयमा जानकारी लिने उदेश्यका साथ अनुगमन गरिएको र सो क्रममा जनप्रतिनिधिहरुले यस्तो समस्या प्रकट गरेको जिसस प्रमुख खुलालले जानकारी दिनुभयो । सो अवसरमा स्थानीय तहका प्रमुख एवम् उपप्रमुखहरुले कोरोना विरुद्ध स्थानीय तहहरु सकृय भएर लागेको तर लकडाउनका कारण स्थानीय स्तरमा उत्पादित तरकारीले बजार पाउन नसकेको एवम् विकास निर्माणको काम सेमत अगाडी बढ्न नसकेको गुनासो गरेको उहाँले बताउनुभयो ।

अनुगमनका क्रमममा भीमफेदीमा गाउँपालिका अध्यक्ष हिदम लामा एवम् प्रमुख प्रशासकिय अधिकृत जिवन कुँबरसंग छलफल भएको प्रमुख खुलालले बताउनुभयो । सो क्रममा अध्यक्ष लामाले गाउँपालिकाले हालसम्म गरेका प्रयास एवम् समस्याहरुका बारेमा प्रमुख खुलालललाई जानकारी गराउनुभएको हो । उहाँले बाहिरबाट गाउँमा आएकाहरुको स्थास्थ्य परिक्षण देखि लकडाउनका कारण गाउँ फर्किन नसक्नेहरुलाई व्यवस्थापन एवम् गाउँमा सचेतनाका कार्यक्रमहरु गरिएको साथै लकडाउनका कारण प्रभावित गाउपालिकाको ९ वटै वडामा अति जोखिम परिवारको पहिचान गरि प्रथम चरणको राहत बितरण समेत गरिसकिएको जानकारी दिनुभयो ।

त्यस्तै उत्तरी मकवानपुरको ईन्द्रसरोवर गाउँपालिकामा अध्यक्ष जीवन लामा तथा अन्य जनप्रतिनिधिहरुले हाल सम्मको अवस्था तथा समस्याका बारेमा जानकारी गराउनुभएको थियो । अध्यक्ष लामाले गाउँपालिकाले ८ वेडको क्वारेन्टाईन निर्माण गरेको साथै विदेशबाट फर्किएकाहरुको स्वास्थ्य परिक्षण गरिएको, दुई सय ३१ अति जोखिम परिवारको पहिचान गरि राहत वितरण गरिएको जानकारी दिनुभयो । उहाँले ईन्द्रसरोवर गाउँपालिका तरकारीको पकेट क्षेत्र भएकाले याहाँ उत्पादित तरकारीले बजार नपाउँदा भने थप समस्या भएको बताउनुभएको छ ।

त्यस्तै अनुगमनका क्रममा जिल्लाको उत्तरी थाहा नगरपालिकाका उपमेयर खड्ग गोपालीले नगरपालिकाले गरेका प्रयास तथा उपलब्धीका बारेमा जानकारी गराउनुभएको प्रमुख खुलालले बताउनुभयो । उहाँले थाहा नगरपालिकाले कोभिड–१९ विरुद्ध हर सम्भव प्रयास गरेको बताउनुभयो । दैनीक जानाकरी लिन सचिवालय नै निर्माण गरेर काम भईरहेको उहाँले जानकारी दिनुभएको छ । थाहा नगरपालिकाले ३१ बेडकाे क्वारेन्टाई निर्माण गरेको, घर/घरमा स्वास्थ्य सेवा/औषधि सेवा प्रदान गरेको सबै कुराको दैनकि लगत राखेर काम गरेको, विदेशबाट आउनेको निगरानी गरिएको, आफ्ना जनतालाई खोज्न अनलाई फारमको व्यवस्थापन गरिएको, व्यवस्थित राहत वितरण गरिनुका साथै सबैलाई जिम्मेवारी बाँडफाँड गरेर कामलाई सहज बनाइएको समेत उहाँले जानकारी दिनुभयो । सो क्रममा उपमेयर गोपालीले विकास निर्माणका काम भने यस बिचमा रोकिएकाले यसकाम बारेमा सरकारले ठोस निर्णय लिनु पर्ने बताउनुभयो । थाहा नगरपालिकामा पनि तरकारीले बजार नपाएको समेत गोपालीले बताउनुभएको प्रमुख खुलालले बजानकारी दिनुभयो । साे क्रममा प्रमुख खुलालले उत्यपन्न समस्याका विषयमा समन्वय तथा सहजीकरण गर्ने बताउनुभएकाे छ । उहाँले विकास निर्माणका काममा भाैतिक दुरी कायम गरेर सम्भव भएसम्म् नराेक्न समेत स्थानीय तहलाइ अनुराेध गर्नुभयाे । अनुगमन टोलीमा जिल्ला समन्वय समिति मकवानपुरकी उपप्रमुख भगवती पुडासैनी, सदस्य चित्र बहादुर बलामी, नायब सुब्बा उपेन्द्र पोखरेललगायतको सहभागिता थियो ।