मकवानपुर– मकवानपुरकाे बागमती गाउँपालिकाले आज देखि कोरोना भाइरस (कोभिड–१९) परीक्षण ¥यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) सुरू गरेकाे छ । हाल सम्म ३१ जना वैदेशिक राेजगारीबाट फर्केकाहरू गाउँपालिकाकाे सम्पर्कमा आएकाे जस मध्ये पहिलाे दिन आज २० जनाकाे परिक्षण गरिएकाे गाउँपालिका अध्यक्ष सर्केश घलानले जानकारी दिनुभयाे ।

र्यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) गरिएका २० जनाकै नतिजा नेगेटिभ देखिएको गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक दिनेश गुप्ताले जानकारी दिनुभएकाे छ । विदेशबाट आउनेहरु सबै गाउँपालिकाकाे निगरानीमा रहेकाे र गाउँपालिकाको सम्पर्कमा रहेका व्यक्तिहरुकाे परीक्षण गरिएको उहाँले जानकारी दिनुभयाे । जिल्ला स्वास्थ्य कार्यालयले आरडीटी परीक्षणका लागि सामग्री उपलब्ध गराएपछि गाउँपालिकास्थित फापरबारीमा उनिहरूकाे परीक्षण गरिएकाे गाउँपालिका अध्यक्ष घलानले बताउनुभयाे । गत फागुन २५ यता विदेशबाट आउनेहरुलाई गाउँपालिकाले निगरानीमा राखी स्वास्थ्यकर्मी घर घरमा पुगेर अवस्था बुझ्ने गरेकाे तथा जोखिमबाट बचाउन सो क्षेत्रका नागरिकको सुरक्षाका लागि गाउँपालिकाले घर घरमा साबुन, सेनिटाइजर लगायत सरसफाईका सामग्री वितरण गरेको समेत अध्यक्ष घलानले जानकारी दिनुभयाे । साथै, कन्ट्याक्ट ट्रेसिङमार्फत अन्य मुलुकबाट गाउँपालिका क्षेत्रमा भित्रने व्यक्तिहरुलाई निगरानीमा राख्नुका साथै गाउँपालिकाले उच्च सतर्कता अपनाएर काम गरिरहेकाे अध्यक्ष घलानले बताउनुभयाे ।