हेटाैंडा– कोरोना भाईरसको सन्त्रास बढ्दै गएपछि मकवानपुर गढी गाउँपालिका–६ स्थित ईश्वरी प्राविमा ५ शैयाको आईसोलेसन कक्ष स्थापना गरिएको छ । बैदेशिक रोजगारबाट स्वदेश फर्किएकाहरुको लगत संकलन गरिएपछि सम्भावित चुनौतीको सामना गर्न आसेलेसन कक्ष स्थापना गरिएको हो ।

५ शैयाको आईसोलेसन स्थापना गर्दै वडा अध्यक्ष टीका प्रसाद दाहालले मकवानपुर गढी गाउँपालिकामा कोरोना नियन्त्रणका लागि हर सम्भव प्रयास गरिएकाे बताउनुभयो । नेपाल सरकारले घोषणा गरेको लकडाउनलाई पालिका र वडास्तरमा कडाईका साथ पालना गरिएको पनि अध्यक्ष दाहालले जानकारी दिनुभयो । आईसोलेसन वार्ड स्थापना गर्न विध्यालयका अध्यक्ष कृष्णप्रसाद हुमगाई र प्रधानाध्यापक सुनिल गौतमले विद्यालय भवन उपलब्ध गराउनुभएकाे हाे । दाहालले मकवानपुर गढी गाउँपालिकाका–६ संग सीमाना जोडिएका अन्य वडामा पनि यस्तो समस्या देखिएमा आईसोलेसन कक्षकाे क्षमता अभिबृद्धि गरिने समेत जानकारी दिनुभयो । कोरोना एक ब्यक्तिबाट सजिलै अर्को ब्यक्तिमा सर्न सक्ने भएकोले सामाजिक दुरी कायम गरेर सबै वडावासीमा सजगता अपनाई सुरक्षित रहन समेत आग्रह गर्नुभएकाे छ ।