मकवानपुर– कोरोना भाइरस (कोभिड–१९) असर मकवानपुरका धार्मिक क्षेत्रमा समेत परेको छ । कोरोना भाईरस नियन्त्रण तथा त्यसबाट सुरक्षित हुन सरकारले घोषणा गरेको लक डाउनका कारण वाग्मती प्रदेशको राजधानी हेटौँडामा महत्वपूर्ण धार्मिकस्थलमा पूजापाठ बन्द गरिएको छ ।
हेटौडा ४ स्थित पशुपतिनाथ मन्दिर तथा भुटनीदेवी मन्दिरलगायत अन्य महत्वपूर्ण मन्दिरमा तालाबन्दी गरी पूजापाठ बन्द भएको छ । ती मन्दिरको मुख्यद्वारमा सूचना टाँसेर पूजापाठ बन्द भएको जनाइएको छ । सुचना टाँस गरिएक पछि मन्दिरमा पूजापाठका लागि पुगेका दर्शनार्थी फर्किएको बताइएको छ । पूजापाठका लागि आउने भक्तजनको भीडभाड बढी हुने भएकाले कोरोना भाइरसको जोखिम न्यूनीकरण गर्न मन्दिरको पूजापाठ अनिश्चितकालका लागि बन्द गरिएको मन्दिर व्यवस्थापन समितिहरुले जनाएका छन् ।
हेटौंडाका पत्रपत्रिका बन्द
हेटौँडाबाट प्रकाशित हुने आधा दर्जन स्थानीय पत्रपत्रिका पनि बन्द भएका छन् । लक डाउनको आज छैठौंँ दिन पनि हेटौँडाका मुख्यबजार र गल्ली सुनसान छन् । दूध, फलफूल, तरकारी तथा फोहर बोकेका गाडीमात्र चलेको पाइएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार लकडाउनको अवज्ञा गर्ने विगत पाँच दिनमा २५० बढी सवारी साधनलाई कारवाही गरिएको छ ।

पैदल यात्रीलाई खाजाको व्यवस्था

लकडाउनको कारण राजमार्गमा सवारी नगुडेपछि यात्रुहरु पैदल यात्रा गरिरहेका छन् । गन्तव्यमा पुग्न पैदलयात्रीहरु ताँति लागेका छन् । ती यात्रुलाई मकवानपुरको मनहरी गाउँपालिकाको खाजा र पानीको व्यवस्था गरेको छ ।

पैदलयात्रीलाई राहत स्वरुप मनहरीमा गाउँपालिकाले चिउरा, दालमोट र पानीको व्यवस्था गरेको अध्यक्ष एकराज उप्रेतीले बताउनुभयो । गाउँपालिले ईलाका प्रहरी कार्यालय मनहरीको सहकार्यमा चितवन तर्फबाट बारा, पर्सा, रौतहट तर्फ जान पैदल हिडेका यात्रुलाई चिउरा, दालमोट र पानीको व्यवस्था गरिएको गाउँपालिका अध्यक्ष उप्रेतीले बताउनुभयो । लकडाउनले गर्दा सवारी नचल्दा, पसल नखुल्दा खान नपाई भौकै हिडिरहेको मानिसलाई राहत स्वरुप खाजाको व्यवस्था गरिएको उहाँले बताउनुभयो ।