मकवानपुर– विश्वव्यापी रुपमा फैलीएको (कोभिड–१९) कोरोना भाइरसको संक्रमणको त्राससंगै बजारमा दैनिक उपभोग्य सामग्री आपुर्ति व्यवस्थित गर्न बागमती प्रदेश सरकारले बजार अनुगमनलाई कडाई गर्ने भएको छ । प्रदेश स्तरीय बजार अनुमन उच्च स्तरीय समितिको आईतबार बसेको बैठकले बजारमा दैनीक उपभोग्य सामग्रीको कृत्रिम अभाव सृजना गरेर मुल्यबृद्धी भएको पाईएकोले त्यसको नियन्त्रणकालागि बजार अनुगमनलाई कडाई गर्ने निर्णय गरेको हो ।

प्रदेशस्तरमा गठित वजार अनुमन समितिका संयोजक तथा उद्योग पर्यटन वना तथा बातावरण मन्त्री अरुण प्रसाद नेपालको अध्यक्षतामा आज बसेको बैठकले प्रदेशका १३ वटै जिल्लामा घरेलु तथा साना उद्योग कार्यालय मार्फत स्थानीय प्रशासन, प्रहरी, उद्योगी, उपभोक्ता लगायतकाको सहभागितामा बजार अनुगमन गरिने तथा प्रदेशका सवै स्थानीय तहले वडास्तर तह सम्म अनुगमन समिति गठन गरी अनुगमनलाइ प्रभावकारी बनाउने निर्णय गरेको हो ।
आपुर्ति व्यवस्थालाई व्यवस्थित गर्ने तथा जनतालाई अनुभुति हुने गरि व्यवस्थापन गर्न बजार अनुगमनलाई कडाई गर्न लागिएको उहाँले बताउनुभयो । उपभोग्य सामाग्रीको कृतिम अभाव सृजना गर्ने, कालो बजारी तथा मिसावटगर्ने कार्यलाई नियन्त्रण गर्न बजार अनुगमनलाई तिब्रता दिने तथा कानुन वमोजिम कारवाही हुने मन्त्री नेपालले बताउनुभयो । साथै बजारमा उपभोग्य सामाग्रीको अभाव हुन नदिन उद्योग बाणिज्य संघ तथा मातहतका विषयगत संघ र खुद्रा ब्यापार संघले आवश्यक व्यवस्था मिलाउने निर्णय गरिएको मन्त्री नेपालले वताउनुभयो ।
त्यस्तै आगन्तुकलाई रात विताउने सेवा दिने पर्यटक स्तरका तथा अन्य होटल, मोटल, लज आदीले आगन्तुकको ज्वरो मापन गर्ने, कोठा, बेडमा प्रयोग कपडा नियमित सफा गर्ने, सेनिटाईजरको प्रयोग गर्ने, बाथरुममा वेगन तथा अन्य वस्तुबाट सफा गर्नुपर्ने निर्णय गरेको छ । रेस्टुरेन्ट, बार, सपिङ्गमल तथा सपिङ्ग कम्प्लेक्सआदीका सञ्चालकले ज्वरो मापन उपकरण तथा सरसफाईका लागि साबुन पानी तथा सेनिटाईजरको व्यवस्था गरी हात सफा गरेरमात्र भित्र प्रवेश गर्न दिने व्यवस्था गर्नुपर्ने निर्णय गरेको मन्त्री नेपालले बताउनुभयो ।
त्यस्तै बैठकले कार्यस्थल, वाथरुम, शौचालय आदि स्थान र टेबुल कुर्सी, बार (रेलिङ्गमा नियमित रुपमा संक्रमण नहुने व्यवस्था मिलाउन निर्देशन दिइएको छ । पसल संचालकले आफ्नो पसल वरिपरि निर्मलिकरणको व्यवस्था गर्ने, पर्यटक यातायातका साधन प्रयोग गर्नुअघि अनिवार्य रुपमा निर्मलिकरण गर्ने, स्वास्थ्यसँग सम्वन्धित ज्वरो मापन उपकरणको सहज आपूर्तीका लागि नेपाल सरकारलाई अनुरोध गर्ने, अनाधिकृतरुपमा घरघरमा गई समान विक्री गर्ने कार्यलाई रोक लगाउने, स्वास्थ्यसँग सम्वन्धित सामान र अन्य सामानको मूल्यसूची अनिवार्यरुपमा सबैले देख्ने गरी सार्वजनिक गर्ने वा राख्ने व्यवस्था गर्ने, मन्त्रालय, अन्तर्गत निकाय, उद्योग तथा अन्य सेवादिने निकायले आफ्नो घर, कार्यालय भवन र परिसरमा नियमित रुपमा सरसफाई गर्ने, प्रवेशद्वारमा ज्वरो मापन गर्ने उपकरण एवं स्यानिटाइजरको व्यवस्था गरी प्रवेश गर्ने व्यवस्था मिलाउने निर्णय गरिएको छ ।

बजार अनुगमनसमितिले बजार अनुगमन लगायत समग्र अनुगमनको प्रतिवेदन जिल्ला प्रशासन कार्यालय र उद्योग वाणिज्य उपभोक्ता हित संरक्षण निर्देशनालयमा पेश गर्ने व्यवस्था मिलाईएको छ । साबुन पानीले हात धुन र स्यानिटाइजरको प्रयोग गर्न, भीडभाडबाट टाढै रहने, सकेसम्म घरमै बस्न, अत्यावश्यक काम नपरी बाहिर ननिस्कने, अत्यावश्यक वस्तुको अधिक सञ्चय नगर्ने, चिकित्सक, विज्ञ तथा प्राविधिकहरुको सल्लाह लिने, धैर्यवान हुनु र संयमता अपनाउन र आतंकित नहुन सबैमा हार्दिक अपिल गर्ने निर्णय समेत गरिएको छ ।
वैठकमा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, विभीन्न मन्त्रालयका सचिवहरु, प्रमुख जिल्ला अधिकारीलगायत सुरक्षा निकायका प्रतिनिधि, उद्योगी, व्यावसायी, उपभोक्ता हित संरक्षण मञ्चलगायतकाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।