नेपाल उद्योग वाणिज्य महासंघको ५४ औ वार्षिक साधारण सभा बिहीबारबाट काठमाडौंमा शुरु हुने भएको छ । मुलुकका व्यवसायीहरूको सबैभन्दा ठूलो संगठनको साधारण सभा भएकोले यो साधारण सभालाई चासोपूर्वक हेरिएको छ । महासंघले सार्वजनिक गरेको सधारणसभा सम्बन्धी कार्यक्रम अनुसार मंसीर ११ गते बिहीबार बिहान प्रधानमन्त्री केपी शर्मा ओलीले साधारण सभाको उदघाटन जुम प्रविधिबाट गर्नु हुनेछ ।
नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी, कार्की व्याङकेट माइतीघर र नेपाल उद्योग वाणिज्य महासंघको सचिवालय छुट्टाछुट्टै रुपमा निर्वाचनको लागि मतदान हुनेछ । निर्वाचन समितिले पाँच किसिमका मतपत्र निर्वाचनको लागि प्रयोगमा ल्याउने निर्वाचन अधिकृत लीलामणि पौडेलले जानकारी दिनु भयो । बुधवारसम्म अद्यावधिक भएका मतदाताहरुमा एसोसिएट तर्फबाट ९२३, वस्तुगत तर्फ १०३, जिल्ला नगरबाट १०७, द्धि राष्ट्रियबाट १२ र संस्थागत तर्फ १२ गरी कुल ११५७ मतदाता सहभागी हुने निर्वाचन समितिले जनाएको छ । निर्वाचनका लागि वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष सहित विभिन्न पदका लागि १ सय २१ जनाले प्रतिस्पर्धामा भाग लिएका छन् । त्यसमध्ये ७० जना निर्वाचित भएर आउने छन् ।
अध्यक्षमा वरिष्ठ उपाध्यक्ष स्वतह निर्वाचित हुने व्यवस्था रहेकोले अहिले निर्वाचनको मुख्य ध्यान वरिष्ठ उपाध्यक्षमा केन्द्रित भएको छ । निर्वाचनका लागि किशोर प्रधान र चन्द्र ढकालका दुई छुट्टाछुट्टै समूह प्रतिपर्धामा रहेका छन् ।