मकवानपुर– हेटौंडा औद्योगिक क्षेत्रमा बुधबारबाट काेराेना (कोभिड–१९) सम्बन्धी स्वास्थ्य परिक्षण तथा सचेतना कार्यक्रम संचालन भएको छ । उद्योग संघ मकवानपुरको आयोजना तथा हेटौंडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालय, औद्योगिक सुरक्षा बलको सहकार्य एवम् वि एन पी स्पोर्ट सर्भिस प्रालीको प्रयोजनामा आजबाट तीन दिने स्वास्थ्य परिक्षण तथा सचेतना कार्यक्रम संचालन भएको हो ।

स्वास्थ्य परिक्षण तथा सचेतना कार्यक्रमको बुधबार जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले उद्घाटन गर्नुभएको हो । हेटौंडा औद्योगिक क्षेत्रमा काम गर्ने श्रमिक तथा कर्मचारीको स्वास्थ्य परिक्षण गर्नुका साथै सचेतना फैलाउने उदेश्यका साथ कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रमबाट अन्य सर्वसाधारणले समेत सेवा लिन पाउने बताईएको छ । कार्यक्रममा प्रमुख खुलालले आफ्नो स्वास्थ्य पनि परिक्षण गराउनुभएको थियो । उहाँले उद्योग संघले आफ्ना श्रमिकका लागि गरेको कामको प्रशंसा समेत गर्नुभयो । उहाँले सचेतना नै सबै भनदा महत्वपुर्ण भरकाले सचेतना फैलाउने र सजग रहने कार्यमा सबै जुट्नु पर्ने बताउनुभयो । डा. रोजिन्द्र बस्नेत र सागर काफ्लेलगायत अन्य स्वास्थ्यकर्मी सहितको टोलीले पहिलो दिन करीब ९०० जनाको स्वास्थ्य परिक्षण गरिएको जनाईएको छ ।