मकवानपुर– बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले कोरोनाबाट निम्तन सक्ने विपदप्रति प्रदेश सरकार गम्भिर रहेको बताउनुभएको छ । बिशेष र शुन्य समयमा उठेका प्रश्नहरुको बुधबार प्रदेशसभा बैठकमा जवाफ दिंदै मूख्यमन्त्री पौडेलले कोरोनाबाट आत्तिनु पर्ने अवस्था नभए पनि प्रदेशका बिभिन्न स्थानमा हेल्थ डेक्स स्थापना गर्नुका साथै जनशक्ति समेत तयारी अवस्थामा रहेको बताउनुभएको हो । प्रदेशभरीका अस्पताललाई तयारी अवस्थामा रहन निर्देशन दिएको उहाँको भनाई थियो । सशस्त्र प्रहरी बलसँगको समन्वयमा ४० शैय्याको आईसोलेसन सेन्टर बनाउने तयारीमा सरकार रहेको समेत उहाँले जानकारी दिनुभयो । मंगलबारको प्रदेशसभा वैठकमा बिशेष समयमा सांसदहरुले उठेका प्रश्नहरुको आजको बैठकमा मुख्यमन्त्री पौडेलले जवाफ दिनुभएको हो । प्रदेश सभामा बोल्दै मुख्यमन्त्री पौडेलले भन्नुभयो–“कोरोना भाइरसको प्रकोप र यसले निम्त्याउन सक्ने विपदप्रति प्रदेश सरकार गम्भीर रहेको छ ।” कोरोना भाइरसको विषयमा जनचेतनामुलक कामहरु गरिरहेको भन्दै उहाँले भन्नुभयो– “कोरोना भाइरसको जोखिम सम्भावित स्थलहरुमा हेल्थ डेस्कको स्थापना गरिएको छ, यस भाइरसले निम्त्याउन सक्ने जनधनको क्षतिलाई मध्यनजर गरि आपतकालिन स्थितिमा परिचालित गर्नको लागि आवश्यक जनशक्ति तयारी अवस्थामा राखिएको छ । साथै कोरोना भाइरस देखिएमा उपचारका लागि आवश्यक व्यवस्था मिलाउन प्रदेशस्थित अस्पतालहरुलाई तयारी अवस्थामा राखिएको छ ।” सम्बोधनकै क्रममा मुख्यमन्त्री पौडेलले प्रदेशमा अब बिकासको काम अघि बढ्ने दावी गर्नुभयो । मूख्यमन्त्री पौडेलले यसअघि डिपिआर गर्ने कामका कारण विकासको काममा केही ढिलाई भएको भन्दै डिपिआरको काम सकिएकाले बिभिन्न योजनाहरुको अब टेण्डर प्रक्रिया अघि बढाउने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो । उहाँले हेटौंडा–काठमाडौं जोड्ने सडक स्तरोन्नति गर्ने काम अघि बढाउने बताउँदै फाखेल सडकखण्ड स्तरीकरणको काम भईरहेको बताउनुभयो । उहाँले सुरुङमार्गको डिपिआरको काम भईरहेको र यसै आर्थिक बर्षमा टेण्डर हुने विश्वास दिलाउनुभयो । प्रदेशसभा भवनको पनि टेण्डरको तयारी भएको उहाँको भनाई थियो ।
मुख्यमन्त्री पौडेलले प्रदेशसभा बैठकमा दिनुभएको जवाफको पुर्ण पाठ ।