मकवानपुर–मकवानपुरको हेटौंडा उपमहानगरपालिका–६ चौघडाका बद्री बहादुर पाठकले छोराको विहे भोजको खर्च रकम शैक्षिक सहयोग अक्षयकोषलाई दिनुभएको छ । छोरा रविन पाठकको बिबाह भोजको रकम खर्च नगरी उहाँले मंगलबार शैक्षिक सहयोग अक्षय कोषमा हस्तान्तरण गर्नुभएको हो ।

छोरा रविन पाठकको विवाहपछि आयोजना गरिने प्रितिभोजको रकम खर्च कटौती गरी उहाँले कोषमा १ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ हस्तान्तरण गर्नु भएको हो । रविनको सोमबार चौघडाकै रुपा चौलागाईंसंग विवाह भएको हो । नव विवाहित जोडि र परिवारको सल्लाहमा रकम कोषमा हस्तान्तरण गरेको बुवा बद्री पाठकले बताउनुभयो । विवाहपछिको भोज कटौती गरेर विद्यार्थीहरुको शैक्षिक सहयोगको लागि योगदान गर्न पाउँदा खुशी लागेको बुवा बद्री पाठकले बताउनु भयो । त्यस्तै गरिब, जेहेन्दार, मिनेहनी विद्यार्थीहरु पढ्नवाट बन्चित हुन नपरोस भन्ने उदेश्यका साथ फजुल खर्च नगरि रकम कोषमा हस्तान्तरण गरेको रविन पाठकको भनाई छ ।
मंगलबार बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले एक कार्यक्रमका बचि कोषका अध्यक्ष समेत रहनु भएका जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाललाई सहयोग रकम हस्तान्तरण गर्नु भएको थियो । गरिब, जेहेन्दार तथा मिनेहनी विद्यार्थीहरुको लागि सहयोग पुर्याउने उदेश्यका साथ कोषको स्थापना भएको हो । हाल सम्म कोषमा करीब १० लाख रुपैया जम्मा भईसकेको कोषका अध्यक्ष खुलालले बताउनुभयो । संविधानमा नै सबैलाई शिक्षा प्रदान गर्ने भन्ने उल्लेख भए पनि सबै ठाउँमा सरकारको ध्यान पुग्न नसक्ने र बालबालिकाहरु प्ढाईबाट बन्चित हुने हुँदा त्यसको निवारणका लागि जनस्तरवाटै कोषको स्थापना भएको हो । कोषमा जम्मा भएको रकमबाट यसै वर्ष देखि छात्रबृति वितरण गर्ने तयारी रहेको र कार्यविधि समेत निर्माण भईसकेको उहाँले बताउनुभयो । शैक्षिक क्षेत्रमा सहयोग गर्ने उदेश्य रहेको उक्त कोषलाई बृद्धि गर्दै १ करोडको पु¥याउने लक्ष्य रहेको छ ।